१२ बैशाख २०८१, बुधबार

यस्ता छन् ओखर खाँदा हुने फाइदाहरु, जानी राखौं


ओखर

ओखर स्वास्थ्यको लागि एकदमै महत्वपूर्ण आहार हो । ओखरमा फ्याट, भिटामिन र मिनरल तत्व प्रशस्त पाइने हुनाले यो खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति बढाउन समेत यसले मद्दत गर्दछ । स्मरण शक्तिका अतिरिक्त हामीले शरीरलाई चाहिने आवश्यक तत्व ओखरबाट लिन सक्ने छौं ।

प्राकृतिले पनि ओखरलाई हाम्रो मस्तिष्कको जस्तै दुई भागमा बाडेको देखिन्छ । आजकाल ओखर खानेहरू धेरै कम पाइन थालेको छ । ओखरमा पाइने तत्वहरुमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, कपर, सेलेनियम, ओमेगा–३ फ्याट्टी एसिड रहेका छन् ।

यति धेरै तत्व पाइने ओखरलाई काँचै खानुभन्दा भिजाएर खाँदा त्यसको फाइदा कैयौं गुणा बढ्छ । राती एक दुइवटा ओखरलाई भिजाएर राख्ने र बिहान खाली पेटमा खाने गर्दा बढी फाइदा हुन्छ । भनिएको छ, ओखरको फाइदा खायको केही समयमा तत्काल देखिन थाल्दछ ।

ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले रक्तनलीलाई झन् बढी लचिलो बनाउन सघाउँछ । अनि शरीरमा रक्तसञ्चार सहज हुन गई मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।

ओखर एक मात्र यस्तो प्राकृतिक फल हो, जसले मानिसका लागि अतिआवश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा ओखरबाट हामीले प्राप्त गर्न सक्ने छौं । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि-अक्सिडेन्ट र प्राकृतिक मिनरल पाइने हुनाले यस्लाई महत्वपूर्ण खाद्यान्नको रूपमा प्रयोग गर्न सकिन्छ ।

ओखरमा फाइबर र म्याग्नेसियम प्रसस्त पाइने हुनाले यसले स्वास्थ्य लाभ लिन ठूलो मद्दत गरेको हुन्छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खानाले डिप्रेशनको खतरा कम भएर जान्छ र बिर्सने, एकोहोरो पनलाई समेत हटाउन मद्दत गर्दछ ।

क्यालिफोर्निया यूनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरुमा डिप्रेशनको असर कम भएको पाएका छन् । यो अध्ययन न्यूट्रेन्ट जर्नलमा प्रकाशित भएको थियो । अध्ययन अनुसार ओखर खानाले शरीरमा उर्जा बढाउँछ ।

यस्ता छन् ओखर खानुका अन्य फाइदाहरु

१. मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि ओखर खानुहोस् भन्ने हाम्रो परामर्श छ ।

२. ओखरमा क्याल्सियम प्रशस्त पाइने हुनाले हड्डी बलियो बनाउन आवश्यक मद्दत यसले गर्दछ ।

३. दैनिक दुइवटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

४. ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ ।

५. ओखर खाँदा मृर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।

६. ओखरमा भिटामिन इ पाइने हुनाले सुक्रकिट बढाउन समेत मद्दत गर्दछ । बाझोपन हटाएर गर्भ रहने कुरा उल्लेख गरेको छ ।

७. ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट समेत राहत दिन्छ ।

८. ओखर भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन-ई, भिटामिन-बी, भिटामिन-बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ । अनिद्राको समस्या भएकाहरूलाई समेत ओखरले राम्रो फाइदा गर्दछ ।

९. ओखरको नियमित सेवन गर्नाले अल्जाइमर्स जस्ता रोग हुनबाट समेत रोक्ने गर्दछ ।

नोट : हुनत ओखर जस्ता अनेकौं पौष्टिक खाद्य पदार्थ थुप्रै भएतापनि हामी यस्लाई प्रयोग गर्न सकिरहेका हुदैनौ । यसरी हामीले प्रयोग गर्दा फाइदा हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !