८ बैशाख २०८१, शनिबार

यस्ता छन् जनैपूर्णिमामा स्वास्थ्यको लागि क्वाँटी खानुका फाइदाहरु


Kwati

जनैपूर्णिमा वा रक्षाबन्धनको दिन क्वाँटी पनि खाइन्छ । क्वाँटी चना, मस्याङ, मुग, बोडी, मास, भटमास, सिमी, बकुल्ला, सानो केराउ, ठूलो केराउ आदि गेडागुडीका टुसा उमारेर बनाइन्छ । जनैपूर्णिमाको दिन ११ थरिका गेडागुडी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपानीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।

यसमा भिटामिन ‘बि’ को सबैजसो प्रकारकाहरु पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुने भएकाले धेरै प्रकारका रोगीलाई फाइदाजनक हुन्छ । यसले थकित शरीरमा ऊर्जा संचार गर्छ भने चिसो पनि भगाउँछ । स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ ।

क्वाँटी खानुका फाइदै फाइदाहरु

१. क्वाँटी रेसादार खानेकुरा भएकाले यसले कब्जियत हटाउँछ अनि पाचनशक्तिमा सुधार ल्याउँछ । पायल्स भएका मानिसहरुलाई समेत फाइदा पुर्याउँछ ।

२. यसले मधुमेह नियन्त्रण राख्न सघाउ पुर्याउनुका साथै उच्च रक्तचाप नियन्त्रणमा समेत सहयोग गर्छ ।

३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । कोलस्टेरोल नियन्त्रण गर्छ । शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

४. स्मरणशक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ । रक्त संचार तथा स्नायु प्रणालीलाई फाइदा पुग्छ ।

५. बालबालिकाको वृद्धि-विकासमा समेत सहयोग पुर्याउने भएकाले क्वाँटीको महत्व बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि निकै महत्वपूर्ण रहेको छ ।

६. तुरुन्त प्रयोग हुन सक्ने शरिरलाई चाहिने शक्तिको स्रोत दिन्छ । त्यसकारण शरिरको थकाई कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

७. टुसाएका गेडागुडी भिटामिन प्रशस्त पाइन्छ । क्वाँटीमा पनि भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन इ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ ।

८. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुटकारा मिल्छ ।

९. गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरिरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !