१३ बैशाख २०८१, बिहिबार

युएईमा मोडलिङमा पहिचान बनाएकी नेपाली मोडल चाँदनी पाठक


चाँदनी पाठक

काठमाडौँ । मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ । यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा बढी चिनिन्छ ।

हुन पनि प्रायः नेपालीहरू यी देशमा कामकै सिलसिलामा त्यहाँ पुग्ने गरेका छन् । खाडी मुलुक भएकाले कडा नियमसँगै तडकभडकबिनाको जीवनशैली भन्ने पहिचान त छँदैछ । त्यसैले पनि यी देशमा मोडलिङको काम या व्यवसाय के होला भन्ने प्रश्न उब्जिनु स्वाभाविकै हो ।

तर कामकै सिलसिलामा युएई पुगेर पनि आफ्नो अर्कै पहिचान बनाएको नेपाली नाम हो, चाँदनी । कामका लागि त्यहाँ पुगेर पनि आफ्नो रुचिअनुसारकै काम गर्न र त्यसलाई व्यवसायमा ल्याउन उनी सफल भएकी छन् । बाल्यकालदेखि नै चलचित्रकी सौखिन चाँदनी पाठक दुवईकी यस्तै एक व्यावसायिक मोडल हुन् । अहिले उहाँले आफ्नो पहिचान नेपाली गन्तव्य मुलुककी एक सफल मोडलका रूपमा स्थापित गरिसक्नुभएको छ ।

सन् २००९ मा आयोजना भएको ‘मिस नेपाल’ मा सहभागी भएपछि उहाँको मोडलिङको यात्रा सुरु भएको हो । अन्तिम पन्ध्रसम्मको यात्रा तय गरेपछि पाठक बाहिरिनुभयो । त्यसपछि उहाँले म्युजिक भिडियोमा अभिनय, नृत्य निर्देशनलाई निरन्तरता दिइन् । त्यसरी सुरु भएको उनको सोख अहिले व्यवसायमा परिणत भएको छ । अहिले युएईकी एक सफल मोडलका रूपमा उनी यहाँका नेपालीमाझ परिचित छन् ।

“मैले अभिनयसँगै नृत्य निर्देशनलाई पनि अगाडि बढाएँ । चार वर्षसम मोडलिङसँगै जोडिएको विधामा सक्रिय रहँदा नै कामकै सिलसिलामा दुबई पुगेकी हुँ”, मोडल पाठकले भने, “एक वर्षका लागि तय भएको गन्तव्य अहिले कर्मथलो बनेको छ । आफ्नै व्यापार छ । मोडलिङ पनि गरिरहेकी छु ।”

दुबई पुगेर उनले सातको हाराहारीमा भिडियोमा काम गरिसकेकी छन् । प्रायः नेपाली समाजले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा उनको सहभागिता हुने गर्दछ । यहाँको स्थानीय भाषामा बन्ने भिडियोमा अभिनय गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

“म दुबई पुगेपछि आफ्नै काममा केन्द्रित थिएँ तर आफ्नो इच्छालाई धेरै समय दबाउन सकिन । मेरो तस्बिर देखेर नै मलाई स्थानीय मोडलिङ एजेन्सीले अफर गर्नुभएको हो”, मोडल पाठकले भनिन् । र्याम्प शोका लागि खिचाएको तस्बिरले केही कार्यक्रममा सहभागी हुने मौका प्राप्त भएपछि उनी नेपाली समाजको प्रतिनिधिसमेत बनिन् ।

बाहिर चर्चा हुने गरेजस्तो अप्ठ्यारो र असहज अवस्था दुबईमा नभए पनि युएईका अन्य सहरमा भने कानुन कडा रहेको उनले बताइन् । भूगोलको प्रभाव नगरी निरन्तर सक्रिय मोडल पाठकले नेपालभन्दा युएईमा अवसर बढी भएको बताइन् । मोडल पाठकले भनिन्, “आफ्नो काम र मोडलिङलाई सँगै अगाडि बढाइरहेकी छु । हाम्रो मेहनत र प्रयासले नै सफलता दिलाउँछ भन्ने उदाहरण म आफैँ हुँ । मैले दुबईमा गरिरहेको कामले अन्यलाई समेत प्रोत्साहन मिलेको छ । हामीमा प्रतिभा छ भने हाम्रो लागि मनग्य अवसर छ ।”

म्युजिक भिडियो निर्देशनको तयारीमा रहनुभएकी मोडल पाठकलाई चलचित्रमा अभिनय गर्ने रहर छ । यद्यपि त्यसका लागि उनी सिकाइको लागि समेत तयार छिन् । बाल्यकालमा अभिनेता राजेश हमाल, अभिनेत्रीद्वय करिष्मा मानन्धर र जल शाहको अभिनयबाट प्रभावित मोडल पाठकले अवसर पाए सदुपयोग गर्ने योजना सुनाए ।

यतिखेर भने उनी इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीसँग मोडलिङमै साक्षात्कार गर्न काठमाडौँ आएकी हुन् । सङ्घर्षको समयमा साझा मञ्च नहुँदा भोग्ने परिस्थितिसँग अभ्यस्त भएकाले पनि विश्वभर रहेका नेपालीलाई एउटै शोमा देख्दा खुसी लागेको मोडल पाठकले बताइन् ।

उनले भनिन्, “यस किसिमको कार्यक्रमले विदेशमै हुर्किएका पुस्तालाई नेपाली संस्कृतिसँग सामीप्यता बढाउँछ । यसको प्रतिस्पर्धा नेपालमै हुनु झनै राम्रो हो ।” विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायन र नृत्यका प्रतियोगीले यतिखेर काठमाडौँमा आफ्नो प्रस्तुति दिइरहेका छन् ।

नेपाल टेलिभिजनमा बुधबार र बिहीबार राति ‘मेरो भ्वाइस युनिभर्स’ र नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार ‘मेरो डान्स युनिभर्स’ को प्रसारण यसै साताबाट सुरु भएको छ । सो प्रतियोगिताका विजेतालाई नेपालमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिको पुरस्कारको व्यवस्था छ । यी दुवै शोमा प्रथम हुनेले रु एक करोड, द्वितीयले रु ३० लाख र तृतीयले रु २० लाख प्राप्त गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !