६ बैशाख २०८१, बिहिबार

ठमेलको क्लब फरेनहाइटमा आज गायक आदित्य नारायणको ‘लाईभ कन्सर्ट’ हुँदै


आदित्य नारायण झा

काठमाडौँ । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । आज शनिबार साँझ ठमेलको क्लब फरेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ का लागि गायक झा हिजो शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् ।

उनी हिजो नेपाली झण्डा ओढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्रिएका थिए । विमानस्थलमा आदित्यलाई क्लब फरेनहाइटका संचालकद्वय सोनम शेर्पा र मिलन श्रेष्ठले स्वागत गरेका थिए । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताएका थिए ।

“दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनः नेपाल आउने योजना बनाइरहेको छु । नेपाल घुमघाम गर्न मन पर्छ”, गायक झाले भने, “आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु । यो मैले तयार पारेको पहिलो नेपाली गीत हो । यसले नेपालसँगको सामीप्यता थप बढाउने विश्वास छ ।”

उनले नेपाली राम्रोसँग बुझे तापनि बोल्न भने केही समस्या हुने गरेको बताए । उनको आगमनले पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ ।

गायक झा चर्चित नेपाली मुलका भारतीय गायक उदित नारायण झाका छोरा हुन् । गायक झाले कन्सर्टपछि नेपाल बसाइको क्रममा अलवा पशुपतिनाथको पनि दर्शन गर्नेछन् ।

सारेगमापा,ए क्स फ्याक्टर र खतरा खतरा खतरा, इन्डियन आइडल जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत सङ्गीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकका रुपमा डेब्यु गरेका थिए ।

आदित्य नारायणको ‘लाईभ कन्सर्ट’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !