७ बैशाख २०८१, शुक्रबार

काठमाडौंको मेयरमा उम्मेदवारी दिने भनिएका अभिनेता भुवन केसी पछि हटे


भुवन केसी

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सदावहार नायकको रुपमा सुपरिचित भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा नउठ्ने भएका छन् । उन्नत लोकतन्त्र पार्टीले केही दिनअघि मात्र एक प्रेस विज्ञप्ति जारी गर्दै अभिनेता केसीलाई काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

उक्त पार्टीका अध्यक्ष स्वागत नेपालले एक विज्ञप्तिमार्फत् काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन लागेको जानकारी दिएका थिए । तर, पार्टीले आफूलाई उम्मेदवार बनाउने साहसिक निर्णय गरेपनि विभिन्न कारणले आफू काठमाडौंको मेयर पदमा उठ्न असमर्थ भएको केसीले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनले शनिवार फेसबुकमा लेखेका छन्, ‘मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । तर, प्राविधिक कारण तथा कार्यव्यस्तताका कारण म महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु ।’

काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन लागेको खबर संचारमाध्यममा आएपछि सकारात्मक र नकारात्मक टिप्पणी गर्नेहरुप्रति उनले आभार समेत व्यक्त गरेका छन् । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग आफूले छलफल गरेको र धेरैले आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको बताउँदै अभिनेता केसीले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको भएपनि कुनै ठोस निर्णय नभएको स्पष्ट पारेका हुन् ।

सो पार्टीको गत मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

लामो समयदेखि पार्टीको संवाद समितिले गरेको छलफलपश्चात राइट टु रिजेक्ट, राइट टु रिकल, प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्र प्रतिको प्रतिबद्धता गरेपछि उनलाई पार्टीको परराष्ट्र विभाग समेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको पनि बताइएको थियो ।

पार्टीले केसीको उम्मेदवारीमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको अध्यक्ष नेपालको भनाइ थियो । उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको बताइएको थियो ।

यो पनि पढ्नुहोस्

सदावहार नायक भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !