७ मंसिर २०८१, शुक्रबार

अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी


पल शाह

काठमाडौँ । अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । एक गायिकाले पलविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा प्रहरीमा उजुरी दिएकी हुन् ।

१८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो । ती गायिकाले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै पलविरुद्ध आज उजुरी दिएकी हुन् ।

आफ्नो गीतको एउटा म्युजिक भिडियोको सुटिङको लागि तनहुँ गएका बेला पलले आफूलाई ‘फकाएर’ जवर्जस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् । पलबाट आफू पीडित भएको भन्दै उनले उजुरी दिएकी हुन् ।

ती गायिकाले आफूलाई पलले विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै उनी आफैं उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

केही समयअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिन पुगेकी ती गायिकालाई पल पोखरा नै पुगेर विवाह गर्ने वाचा गर्दै उजुरी दिन राेकेका थिए । उनी अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

*यसअघि असावधानीवश गायिकाको नाम र फोटो राखिएकोमा सच्याइएको छ । यसले सम्वन्धित पिडितलाई पर्न गएको असुविधाप्रति माफी चाहन्छौँ : प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !