११ बैशाख २०८१, मंगलबार

सज्जा चौलागाईं बनिन् तेस्रो नेपाल आइडल


सज्जा चौलागाईं

काठमाडाैं, भदौ १२ । सज्जा चौलागाईं तेस्रो नेपाल आइडल घोषित भएकी छिन् । आज शुक्रबार भएको ग्राण्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा नेपाल आइडल भएकी हुन् । पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको विजेता रवि ओड बनेका थिए ।

उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनर अपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन् ।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ । आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ ।

कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !