१२ असार २०८१, बुधबार

लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत


शक्तिबहादुर बस्नेत फाइल फोटो

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको भनेर चलेको हल्ला सही नभएको स्पष्ट पारेका छन् । आज बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले मिडियामा समाचारहरु आएअनुसारको समस्या नभएको दाबी गरेका हुन् ।

उनले केही दिनदेखि भारतबाट विद्युत खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । उनले विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे ।

उनले बाहिर आएजस्तो भारतले विद्युत आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए। उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गरे।

उनले भारतीय प्रतिष्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नहुने भन्ने हल्ला वास्तविकता नभएको बताए । उनले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकताभन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !