८ मंसिर २०८१, शनिबार

सुधार हुदै विद्युत् सेवा


विद्युत् प्रसारण लाइन

खलङ्गा, २४ वैशाख । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।

पुनर्निर्माणका लागि दूतावासले रु दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । सो रकमले विद्युत्को दुईवटा जेनेरेटर खरीद गरिएको थियो । अहिले विद्युत्गृहमा रहेका दुवै जेनेरेटर चलिरहेका छन । विद्युत् पुनर्निर्माणको जिम्मा भारतीय पारसी कम्पनीले लिएको थियो ।

संविधानसभा सदस्य ललितजङ्ग शाहीले भारतीय सरकारका तर्फबाट राजदूतावासको माध्यमबाट विद्युत् पुनर्निर्माणमा गरिएको सहयोग उपलब्धिपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारत सरकारले यहाँको विद्युत् मात्र होइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ । करोडौँका संरचना निर्माण भएका छन् । यो भारत नेपालको विकास साझेदारीमा एक उदाहरण हो ।”

भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले जुम्लामा रहेको विद्युत्मा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताउनुभयो । जुम्लावासीको आग्रहबमोजिम भारत सरकारले विद्युत्मा लगानी गरेर पुनर्निर्माणको काम गरिदिएकामा जिल्लावासी खुशी भएको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कर्मा बुढाले बताउनुभयो । तत्कालीन थोरै घरका लागि निर्माण भएको विद्युत् जीर्ण हँुदै जाँदा समस्या भएको थियो । अहिले पुनर्निर्माणले थोरै भए पनि राहत मिलेको छ ।

सांसद् शाहीको कार्यकालमा एलइडी बल्बको अवधारणा अघि बढ्यो । संसद् विकास कोषको रु २० लाख र साना जलविद्युत् उपभोक्ता समितिको रु पाँच लाखमा प्रतिघर चारवटा बल्ब निःशुल्क बाँडियो । “तर पनि विद्युत् समस्या समाधान हुन सकेन । जुम्लाको विद्युत् समस्या समाधानका लागि धेरै विकल्प अपनाइए तर समाधान हुन सकेन”, साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बढ्थापाले बताउनुभयो । सदरमुकाम खलङ्गामा मात्रै विद्युत्का तीन हजारभन्दा बढी ग्राहक रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !