६ जेष्ठ २०८१, आइतबार

डिपबोरिङ जडान थालिएपछिमा उत्साह


महोत्तरी । सिँचाइ सुविधा विस्तारका लागि महोत्तरीको बर्दिवासमा एकसाथ सात डिपबोरिङ जडानको काम थालिएको छ । बर्दिवास नगरपालिका–२, ६, ७, ८, ९, १२ र १३ नं वडामा डिपबोरिङ जडानको काम एकसाथ थालिएको हो । बोरिङ जडानको शुभारम्भ नगरप्रमुख बिदुरकुमार कार्कीले बर्दिवास–८ हाथीलेटबाट शनिबार गर्नुभएको हो । डिपबोरिङ जडान थालिएपछि किसानमा नयाँ उत्साह छाएको छ ।

पानी वितरण प्रणाली सुव्यवस्थित गर्नसक्दा १० इञ्चको बोरिङ पाइपबाट १०० बिघा जग्गा सिञ्चित हुने विज्ञको भनाइ छ । नेपाल सरकारले तराई समृद्धि कार्यक्रमअन्तर्गत सञ्चालन गरेको यो सिँचाइ कार्यक्रमबाट नहर÷कुलोको पहुँच नभएको जग्गाका किसान लाभान्वित हुने कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा (धनुषा)का इञ्जिनीयर रामेश्वर साहले बताउनुभयो । यो कार्यालयले प्रदेश–२ का महोत्तरी, धनुषा, सिरहा र सप्तरीसहितका चार जिल्लामा तराई समृद्धि कार्यक्रमअन्तर्गतको डिपबोरिङ जडानको संयोजन गर्दै आएको छ ।

बर्दिवास नगरक्षेत्रमा सिँचाइ सुविधा नभएर अपेक्षित उत्पादन लिन नसकेका किसान सरकारको यो अभियानबाट उत्साहित भएका छन् । शनिबार आफ्नो बस्तीमा डिपबोरिङ जडानको काम थालिएपछि हौसिएका बर्दिवास–८ हाथीलेटका किसान चेतबहादुर राना मगरले बोरिङ जडान सफल भए, आफ्नो ठाउँ कृषि फसलले हराभरा हुने भन्दै खुशी व्यक्त गर्नुभयो । “हामी खेतीपातीमा पानीकै अभावले पीडित थियौँ, अब हाम्रो जीवन फेरिने छ”, रानाले भन्नुभयो ।

बर्दिवास नगर क्षेत्रको कूल ३१५.५७ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ३८.४ प्रतिशतमात्र खेतीयोग्य जग्गा छ । यसमध्ये पनि १० प्रतिशत पुगनपुग जग्गामा मात्र कुलो÷नहरको सुविधा रहेको छ । आफ्नो नगर क्षेत्रको यो अवस्थाभित्र डिपबोरिङ सिँचाइ सुविधा विस्तारका लागि अत्यन्त प्रभावकारी हुने नगरप्रमुख कार्की बताउनुहुन्छ । “पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणका भू–भागमा डिपबोरिङ सफल हुने परीक्षणले देखाएको छ, यस भेगमा यो कार्यक्रम सघन बनाउन हामी लागिपरेका छौँ”, नगरप्रमुख कार्कीले भन्नुभयो, “राजमार्ग उत्तरका वडा नं ३, ४, ५, १० र ११ का पहाडी काछमा पनि डिपबोरिङ जडानका लागि जियोलोजिकल डाटा (भूमिको तल्लो सतहमा पानीको अवस्था परीक्षण गर्ने प्रणाली) गरेर सम्भावनाबारे अध्ययन गरी रहिएको कार्कीको भनाइ छ । यो काम भूमिगत जलसिँचाइ डिभिजन कार्यालय महोत्तरी जलेश्वरका विज्ञले गर्दै आएका छन् ।

पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण भेगको बर्दिवास–७ मा गत वर्ष एउटा डिपबोरिङ जडान सफल भएपछि यसपालि सातवटा प्रस्ताव स्वीकृत भएका हुन् । अब आउने आव २०७८÷७९ का लागि अहिलेदेखि नै थप जडानका लागि प्रयत्न थालिएको कार्कीले बताउनुभयो । तराईमा अहिले सञ्चालन गरिएको डिपबोरिङले प्रतिसेकेण्ड ४० लिटर पानी दिने गरेको विज्ञ बताउँछन् । यो पानीको प्रवाह व्यवस्थित गरिँदा सैद्धान्तिकरूपमा एउटा बोरिङले ६० बिघा सिञ्चित हुने मान्यता राखिए पनि १०० बिघासम्म हुनसक्ने कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा (धनुषा) का इञ्जिनीयर साह बताउनुहुन्छ । भूमिको सतहभित्र १०० देखि १५० मिटरसम्म गहिरोमा पानीको राम्रो सतह भेटिने गरेको साहको भनाइ छ । अहिले यस्ता बोरिङ जडानमा मोटर व्यवस्थापनसहित एउटामा २५ लाखसम्म लागत देखिएको कार्यालयले जनाएको छ ।

सिँचाइ सुविधाकै अभावले महोत्तरीमा आम किसानले अपेक्षित उत्पादन लिन नसकेका अवस्था छ । डिपबोरिङ जडानको सफलताले खासगरी जिल्लाको उत्तरी क्षेत्रमा कृषि उत्पादनमा नयाँ क्रान्ति नै आउने आम किसानले आस सँगालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !