१२ बैशाख २०८१, बुधबार

बैतडीमा कोरोना कहरले विद्युतीकरण कार्य रोकियो


बैतडीमा कोरोना कहरले विद्युतीकरण कार्य रोकियो

बैतडी, १४ कात्तिक । कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन । तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो ।

गत चैत ११ देखि गरिएको लकडाउनले रोकिएको विद्युत् विस्तारको काम शुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका इलेक्ट्रिकल इन्जिनीयर अभिषेकराज कलवारले जानकारी दिनुभयो ।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा विद्युत्को राष्ट्रिय प्रसारण पुर्याउनका लागि काम शुरु भएको थियो । सो क्षेत्रमा विद्युत्को पहुँच पुर्याउनका लागि पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम शुरु भएको थियो ।

पाटनमा र मेलौलीमा सवस्टेशन निर्माणका लागि आरके इन्टरनेसनल प्रालिसँग २०७६ साल जेठमा ठेक्का सम्झौता भएर एक वर्षभित्र गरिसक्ने लक्ष्यसहित काम शुरु भएको भए पनि कोरोना कहरले गर्दा काम प्रभावित भएको उहाँले बताउनुभयो । लकडाउनमा सामग्री ढुवानी गर्न नसक्दा काम रोकिएको हो । उहाँले भन्नुभयो, “सवस्टेशन निर्माणका लागि टेण्डर भइसकेको र निरीक्षण अनुगमन भएकाले केही दिनमै पुनः काम सञ्चालन हुन्छ ।”

प्राविधिकसहितको टोलीले निरीक्षण अनुगमनको काम सम्पन्न गरेकाले तिहारपछि काम शुरु हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पेपर वर्कको काम सकिएकोले अब चाँडै निर्माणको कामलाई अगाडि बढाइन्छ ।” पाटनमा सवस्टेशन निर्माणका लागि रु ११ करोड ५० लाख र मेलौलीमा सवस्टेशन निर्माणका लागि रु १२ करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो ।

यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसँग सम्झौता भएको थियो । लाइन विस्तारको काम पनि एक वर्षभित्र सक्ने गरेर २०७६ साल जेठमा सम्झौता भएको थियो । पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि रु दुई करोड १४ लाखमा ठेक्का सम्झौता भएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पुर्याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !