८ बैशाख २०८१, शनिबार

सातौँपटक डडेल्धुराबाट विजयी देउवा छैटौं पटक प्रधानमन्त्री हुने दाउमा


शेरबहादुर देउवा फाइल फोटो

डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उनी यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भएका छन् ।

कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिएका हुन् । विसं २०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुन् ।

विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भए । देउवा २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट विजयी भएका थिए ।

यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए । यसरी सातौँपटक डडेल्धुराबाट विजयी देउवा छैटौं पटक प्रधानमन्त्री हुने दाउमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !