१२ बैशाख २०८१, बुधबार

लमजुङ प्रतिनिधिसभामा जसपाका उम्मेदवार नरेन्द्र गुरुङको निधन


नरेन्द्र गुरुङ

लमजुङ । जनता समाजवादी पार्टी (जसपा)बाट लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नरेन्द्र गुरुङको निधन भएको छ । केही दिनदेखि अस्वस्थ रही चितवनमा उपचारत गुरुङको आज निधन भएको सो पार्टीका केन्द्रीय सदस्य खेमजङ्ग गुरुङले जानकारी दिए ।

मस्र्याङ्दी गाउँपालिका–१ घनपोखराका उम्मेदवार गुरुङ अन्दाजी ६२ वर्षको उमेरमा उच्च रक्तचापका कारण निधन हुन पुगेको उनको भनाइ छ । शनिबार रक्तचापका कारण बेहोस भएपछि तत्काल बेँसीसहरमा रहेको जिल्ला अस्पतालमा लगे पनि थप उपचारका लागि चितवनमा लगेर उपचार हुँदै आएको थियो ।

जिल्लामा आज दिउँसोदेखि नै मतगणना जारी छ । हालसम्म मतगणना भएको चार हजार नौ सय चार मतगणना हुँदा निधन भएका गुरुङको पक्षमा पाँच भोट प्राप्त भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

उनले भने, “उहाँको दुःखद निधन भएको अपुष्ट खबर प्राप्त भएको छ, निधन भए पनि मतगणना भने जारी रहन्छ” । प्रतिनिधिसभातर्फ उनीसहित नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष बालचन्द्र श्रेष्ठलगायत ११ जना उम्मेदवार रहेका छन् ।

मृतक गुरुङ पार्टीको गण्डकी प्रदेशको सदस्यसमेत थिए । मृतक गुरुङको श्रीमती चार छोरा छन । बिरामीका कारण आइतबार मतदानसमेत गर्न नपाएको उक्त पार्टीका केन्द्रीय सदस्य गुरुङले बताए । उनका अनुसार पार्टीका उम्मेदवारको प्रतिनिधि बनेका विकास गुरुङ र बलबहादुर रानालाई मतगणना स्थलबाट फिर्ता बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !