७ बैशाख २०८१, शुक्रबार

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, गौचन प्रतिनिधिसभा सदस्यमा विजयी


योगेश गौचन थकाली

मुस्ताङ । नेपाली कांग्रेसले मुस्ताङबाट प्रतिनिधि सभामा खाता खोलेको छ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

थकालीले ३९९२ मत ल्याउँदा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याएका हुन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन् ।

हिजो आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार ९ सय ५७ मतदातामध्ये ७ हजार २ सय ३० अर्थात् ६५.९८ प्रतिशत मत खसेको थियो । योगेश सम्भवतः कान्छो प्रतिनिधिसभा सदस्य बन्ने भएका छन् । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुन् ।

मुस्ताङमा ६२ वर्षीय एमालेका तुलाचनलाई पराजित गर्दै २९ वर्षीय कांग्रेसका गौचन विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवं पूर्वमन्त्री तथा पूर्वसांसद रोमी गौचनका छोरा हुन् ।

विसं २०७० को चुनावमा कांग्रेसका रोमी गौचन थकालीले कांग्रेसबाट बागी उठेका प्रेमलाई पराजित गर्दै निर्वाचित भएका थिए । विसं २०७४ मा एमाले प्रवेश गरेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए ।

विसं २०७० मा १३ मतले चुनाव जितेका रोमी र २०७४ मा प्रेमसँग ४८५ मतान्तरले पराजित भए । गौचन २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७३ मा वाणिज्यमन्त्री बनेका रोमीका छोरा योगेश यसपालि विजयी भएका हुन् ।

योगेश कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने कान्छा उम्मेदवार भएर पनि विजयी भएका छन् । रोमी र प्रेम मामा–फूपूका छोरा भएको बताइएको छ । थकाली संस्कारअनुसार उनीहरूबीच सोल्टीको साइनो छ । प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् ।

यसरी प्रतिनिधिसभामा मुस्ताङमा कांग्रेसले पहिलो जित हासिल गरेको हो । प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !