११ बैशाख २०८१, मंगलबार

मुस्ताङमा मतगणना जारी : कांग्रेसका गौचनको अग्रता


प्रेमप्रसाद तुलाचन र योगेश गौचन

म्याग्दी । मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहेको छ । एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो ।

आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताए ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले दुई सय ६१ मतले अग्रता लिएका छन् । उनले एक हजार ६८ र नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनले आठ सय सात मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याकका नौवटा मतदान केन्द्रको गणना सकिएको छ । दुई स्थानमा मतगणना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !