८ बैशाख २०८१, शनिबार

बर्दियाका उम्मेदवार विकासका एजेण्डासहित जनताको घर–घरमा


सञ्जय गौतम र लक्ष्मण ज्ञवाली

बर्दिया । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि बर्दियामा प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभा सदस्यमा चार जना निर्वाचित हुँदैछन् । क्षेत्र नं १ मा एक स्वतन्त्रसहित १० उम्मेदवार छन् । यस क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सञ्जय गौतम यसपटक पनि उम्मेदवार छन् । यस्तै एमालेबाट पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार बनेका छन् ।

यिनै दुईबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एमालेका उम्मेदवार ज्ञवालीले जिल्लाका भूमिहीन सुकुम्बासी, मुक्त कमैया र स्थानीय जनताको हकअधिकारका लागि आन्दोलन गर्दै आएको र उनीहरूको सुख–दुःखको साथी पनि भएको हुनाले आफूलाई जनताले मत दिने बताए ।

गठबन्धनको तर्फबाट बर्दिया–१ का उम्मेदवार कांग्रेसका गौतम विगतमा आफूले जिल्लामा धेरै विकास र निर्माणका काम गरेको जिकिर गर्दै जनताले आफूलाई नै भोट दिएर जिताउनेमा विश्वस्त छन् । गत प्रतिनिधिसभा सदस्यको चुनावमा एमाले र माओवादीको गठबन्धन भए पनि तत्कालीन एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई पराजय गरेर गौतम विजयी भएका थिए ।

बर्दिया क्षेत्र नं १ प्रतिनिधिसभा–१ मा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा प्रदेशसभा क्षेत्र नं १ ९१० मा ८१ हजार नौ सय १९ मतदाता र क्षेत्र नं १ ९२० मा ८० हजार सात सय ४३ मतदाता छन् ।

जिल्लाको क्षेत्र नं १ को २ मा प्रदेशसभा सदस्य पदका लागि सत्तागठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रकी अन्जु दहित, एमालेका भक्तबहादुर विक तथा स्वतन्त्र उम्मेदवार सुवास पोख्रेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

क्षेत्र नं १ को २ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी दहित यसअघि बर्दिया नगरपालिकाको उपप्रमुखसमेत थिइन् । आफूले सहजै जित्ने जिकिर गर्दै विकासका एजेण्डा बोकेर घरदैलो गरिरहेको उनले बताइन् ।

सुकुम्वासी नेताका रुपमा परिचित नेकपा (माले) का भक्तबहादुर विक यसपटक चुनावी मैदानमा उत्रिएका छन् । गरिब र सर्वहारा वर्गको उत्थानका लागि आफनो उम्मेदवारी रहेको उनले बताए । आफूहरुले सहजै जित्नेसम्भावना रहेको विक बताए । लामो समय राजनीतिमा बिताएका पोख्रेल पुराना ठूला राजनीतिक पार्टीले विश्वास गुमाएको भन्दै आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !