८ बैशाख २०८१, शनिबार

नवलपरासीपूर्वमा यस्तो छ आसन्न निर्वाचनको तयारी


नवलपरासीपूर्वमा निर्वाचनको तयारी

मध्यबिन्दु, नवलपरासीपूर्व । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, “निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ ।” निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ ।

उनका अनुसार जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित छन् । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा मतदान अधिकृत, कर्मचारी मतपत्रलगायतको सुरक्षाको लागि मतदान केन्द्रमा थप प्रहरी परिचालन हुने बताए ।

मतदान अधिकृतलाई तालिम

जिल्लाभित्रको मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । सबै मतदान अधिकृतलाई नियुक्तिपत्र दिई शुक्रबार र शनिबार दुई निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीपूर्वमा एक सय १३ मतदानस्थल र तीन सय दुई मतदान केन्द्र रहेका छन् ।

मतदान अधिकृलाई निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझेपश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयमा अभिमुखीकरण दिइएको जनाइएको छ ।

निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिएको उनले जानकारी दिए । निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी परिचालन गरिएको छ ।

सबै पालिकामा नमूना मतदान

बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वले आठ वटै पालिकामा नमूना मतदान कार्यक्रम गरेको छ । विद्यार्थी तथा स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका पदाधिकारी र केही स्थानीयको सहभागितामा नमूना मतदान सञ्चालन भएको थियो । मतदाता प्रशिक्षण कार्यक्रम प्रभावकारी नभएको जनगुनासो आइरहँदा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी तथा स्थानीयलाई लक्षित गरी नमूना मतदान गर्न सिकाइएकाले विद्यार्थीले आफू र आफ्नो परिवारलाई मतदान गर्न सिकाउने अपेक्षाका साथ नमूना मतदान कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन अधिकारी भुषालले बताए ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !