काठमाडौँ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा काठमाडौँको धापासीस्थित द ह्वाइट माउन्टेन स्कुलमा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड तीज प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । द ह्वाइट माउन्टेन स्कुलमा तीज विशेष कार्यक्रम २०८२ धुमधामका साथ मनाइएको हो ।
स्कुलका संस्थापक तथा प्रिन्सिपल तिलक शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुका साथै शिक्षक तथा शिक्षिकाले नृत्य प्रदर्शन गरेका थिए । नेपाली मौलिक संस्कृतिको परिचय तथा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यसहित तीज नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
स्कुलका प्रिन्सिपल पौडेलले यस प्रकारका सांस्कृतिक तथा पारिवारिक मूल्य झल्काउने कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पौडेलले तीज पर्व नेपाली समाजको मौलिक संस्कृति भएको उल्लेख गर्दै विद्यार्थीहरुलाई परम्परा र संस्कृतिको सम्मान गर्दै अघि बढ्न आग्रह गरे ।
स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा महिलाहरू साडी र पुरुषहरू सूट लगाएर सहभागी बनेका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले विभिन्न मौलिक सांस्कृतिक पोशाकमा तीज गीत र नृत्य प्रस्तुत गरी शिक्षक तथा सहभागी विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरे ।
कार्यक्रममा तीज पर्वको ऐतिहासिक पृष्ठभूमि र यसको सामाजिक महत्वका बारेमा संक्षिप्त जानकारी पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई विविध प्रस्तुति, नृत्य–गीत र सांस्कृतिक गतिविधिबाट अझ आकर्षक बनाइएको थियो ।
उक्त स्कुलमा हरितालिका तीज पर्व उत्साहपूर्ण वातावरणमा विद्यार्थीहरूले परम्परागत भेषभूषा, नाचगान, सांस्कृतिक कार्यक्रममा सामेल भएका थिए ।
उक्त कार्यक्रममा कक्षा १ देखि ४ कक्षासम्म जुनियर लेभलमा कक्षा ३ की प्रेरणा तामाङ, कक्षा ४ का सुहाना क्षेत्री र प्रिन्सी घर्ती मगरलाई विजेता घोषित गरिएको थियो भने कक्षा ५ देखि १० कक्षासम्म सिनियर लेभलमा कक्षा ५ का सम्भवी बिडारी र देविका बुढा, कक्षा ६ की सुप्रिया मगरलाई पनि विजेता घोषित गरिएको थियो ।












