चौतारा । सिन्धुपाल्चोकको चौतारास्थित छाप आहालडाँडामा दिनेश–रामजी बहुप्राविधिक महाविद्यालय भवनको निर्माण हुने भएको छ ।
बहुप्राविधिक महाविद्यालय निर्माणका लागि त्यहाँस्थित सामुदायिक वनको करिब १८ रोपनी क्षेत्रफल नेपाल सरकारबाट प्राप्त भएपछि भवन निर्माणको प्रक्रिया शुरु भएको हो । भवन निर्माणका लागि सोवण निर्माण सेवा कम्पनीसँग हालै ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा रु १० करोड ९३ लाखको लागतमा बाइस महिनाभित्र निर्माण सम्पन्न हुने तीन वटा भवनमा १२ कक्षाकोठा, कम्प्युटर कोठा र कर्मचारी कोठा हुने वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइले जनाएको छ ।
सम्झौता अनुसार ५०० मिटर पहुँचमार्गसमेत निर्माण गर्नुपर्ने एकाइका इन्जिनीयर राजन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय योजनाअन्र्तगत महाविद्यायको सम्पूर्ण संरचना निर्माणका लागि रु एक अर्ब ३४ करोड ६१ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । बास्केटबल र भलिबल खेलमैदान, तारबार घेराबन्दी, पाहुना घर, छात्रावास भवन, कर्मचारी आवास गृह, चमेना गृह, पुस्तकालय तथा व्यापारिक भवनसमेत निर्माण गरिने योजना रहेको बताइएको छ ।