विद्यालय नै अभिभावक Nepalpatra विद्यालय नै अभिभावक
२ बैशाख २०७८, बिहिबार

विद्यालय नै अभिभावक


शिक्षक

पाँचथर । फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालय कहिल्यै बिदा हुँदैन । विद्यार्थी जस्तै प्रधानाध्यापक र शिक्षक पनि प्रायः विद्यालयमै रहन्छन् । साहराविहीन २५ जना विद्यार्थीलाई आवासमा राखेर पढाउँदै आएको यस विद्यालयमा बिहान बेलुकी अरु विद्यार्थीसमेत भेला हुन्छन् । आवासमा नबसेका विद्यार्थीहरुमध्ये दैनिक १० देखि १५ जनाले बिहानको खाना विद्यालयमै खान्छन् । आवासका अधिकांश विद्यार्थी न कहिल्यै घर जान्छन् न आफन्तकहाँ नै । उनीहरुका लागि विद्यालय नै घर, आफन्त र अभिभावक हो । विहान बेलुकी विद्यार्थीहरु विद्यालयमै रहन्छन् र गृहकार्य गर्छन् ।

फिदिम नगरपालिकासहित हिलिहाङ र कुम्मायक गाउँपालिकाका १६२ घरधुरीका १०३ जना विद्यार्थी यहाँ अध्ययनरत छन् । सेवा क्षेत्रमा माझी, तामाङ, राई, लिम्बू र दलित समुदायको बसोबास छ । प्रधानाध्यापक डिल्लीराम लुइटेलका अनुसार बालविवाहदेखि बहुविवाहसम्मका अनेक समस्याले झेलिएको गाउँमा बालबालिका बेवारिसे हुने क्रम ब्याप्त छ । यस सेवा क्षेत्रका एक दर्जनभन्दा बढी बालबालिका अभिभावकका कारण विद्यालय आउन नसकेको पाएपछि तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा यस विद्यालयले विसं २०७२ बाट आवासको व्यवस्था गरेको थियो । साहराविहीन विद्यार्थीलाई विद्यालयमै राखेर पठन–पाठन गराउँदै आएको यो विद्यालयले शिक्षा दिने कार्यमा मात्र सीमित नभई अभिभावकीय दायित्वसमेत पूरा गरिरहेको छ । शनिबार होस् वा सार्वजनिक बिदा, चाडपर्व होस् वा बन्द हड्तालले यो विद्यालयमा पठनपाठन रोकिँदैन ।

बेमतलबी अभिभावक, बालबालिकाको विचल्ली

कक्षा पाँचसम्म यही विद्यालयमा अध्ययन गरेकी विद्यालय नजिकै घर भएकी तामाङ परिवारकी एक किशोरीले १४ वर्ष नपुग्दै विवाह गरिन् । फिदिम नगरपालिका–९ लुम्फाबुङका राई परिवारका युवकसँग विवाह गरेकी उनले वर्ष दिन नपुग्दै छोरो जन्माइन् । छोरो जन्मिएपछि उनी माइतीमै बसिन् । युवकले माइतीमा बसेकी श्रीमती र छोरोलाई छाडेर हिँडे । किशोरी श्रीमानको घर जान सकिनन् । उनीहरुबीच सम्बन्ध विच्छेद भयो । माइतीमै बसेर छोरो आर्यन राईलाई हुर्काउँदै गरेकी किशोरीको लमजुङ घर भई यहाँ पुल निर्माणका लागि आएका भुजेल थरका एक युवकसँग माया बस्यो । उनीहरुबीच विवाह भयो । काखको नानी माइतीमै छोडेर उनी लमजुङ पुगिन् । अनि लमजुङमा अर्को छोरो जन्माइन् । तर श्रीमान्सँगको सम्बन्ध राम्रो नभएपछि माइती फर्किइन्, छोरो शिशिर भुजेललाई च्यापेर ।

दुई छोरासहित माइतीमा बसेकी किशोरीले पुनःपहिलो श्रीमान्सँग विवाह गरिन् । किशोरीको पहिलो श्रीमान्ले उनीलाई छाडेको समयमा अर्को विवाह पनि गरिसकेकाले उनीहरुको सम्बन्ध राम्रो हुन सकेन । माइतीमा दुई जना छोरा आर्यन राई र शिशिर भुजेल अलपत्र छाडेर किशोरी रोजगारीका लागि पोखरा पुगिन् । कमजोर आर्थिक अवस्थाका कारण उनका माइती पक्षले बालकलाई समयमा खाना खुवाउन, विद्यालय पठाउन तथा हेरचाह गर्न सकेनन् । बालक अलपत्र परे । जागृति आ.वि.ले आवासीय विद्यालय सञ्चालन गर्न थालेपछि उनीहरुलाई आवासमा ल्याएर राखियो । अहिले आर्यन राई १० वर्षका भए भने शिशिर भुजेल सा वर्षका । विद्यालयको आवासमा बसेर पढ्दै गरेका शिशिर भुजेलले आफ्नो बाबु देख्नसमेत पाएका छैनन् ।

सात वर्षकी आयुषा राई विद्यालयको आवासमा बसेर कक्षा एकमा पढ्दैछिन् । आयुषा तेह्रथुमको आठराईमा जन्मेकी थिइन् । तर उनकी आमाले आर्यन राईका बाबुसँग दोस्रो विवाह गरेपछि उनी फिदिम–९ लुम्फाबुङ आइन् । आर्यन जन्मिएर मावलीमै रहेका बेला उनका बाबुसँग आयुषाकी आमासँग विवाह गरेका थिए । आयुषा आमासँगै झट्केलो बाबुको घर पुगिन् । तर केही वर्षमै आयुषाकी आमाले आर्यनका बाबुलाई पनि छोडेर अर्को विवाह गरेपछि उनी अलपत्र परिन् ।
प्रधानाध्यापक लुइँटेलका अनुसार विद्यालयको सेवा क्षेत्र फिदिम–कुम्मायकको सिमाना सिवादोभानमा घर चाहर्दै बसेकी आयुषालाई शिक्षकहरुले भेटे र आवासमा ल्याएर राखे । अहिले उनीहरु तीनै जना आर्यन राई, शिशिर भुजेल र आयुषा राई आवासमा बसेर पढिरहेका छन् । उनीहरुजस्तै २५ जना बालबालिका विद्यालयको आवासमा छन् । अभिभावकहरुलाई छोराछोरीप्रति कुनै चासो र चिन्ता छैन । यो विद्यालय, शिक्षकहरु र सहयोगी कर्मचारी नै यी साहराविहीन बालबालिकाका अभिभावक बनेका छन् ।

निर्दोष बालिबालिकाका दुःख यतिमा मात्रै सीमित छैनन् । कक्षा २ मा पढ्ने निरुता ओलीले बाबुको अनुहार देख्न पाइकी छैनन् । पश्चिम नेपाल घर भएका उनका बाबु ढुवानीको साधनको चालक भएर फिदिम–४ माझीटार आइपुगेका थिए । तामाङ परिवारकी निरुताकी आमाले १४ वर्षको उमेरमा ती सवारी चालकसँग विवाह गरेकी थिइन । विवाहपछि उनीहरु पोखरा गएर बसे । पोखरामा जन्मिएकी निरुता र उनकी आमालाई बावुले छोडेर हिँडे । आमाले निरुतालाई माइतीमा ल्याएर राखिन् र रोजगारीका लागि पोखरा फर्किइन । मावलीमा बसेकी निरुताले पढ्ने वातावरण पाउन विद्यालयको आवास नै आइपुग्नुप¥यो । नौ वर्षकी उनी दुई वर्षदेखि आवासमा बसिरहेकी छन् । “अब छिट्टै ममी आउनुहुन्छ रे”, विद्यालयको आवासमा भेटिएको निरुताले भनिन् ।

फिदिम–५ स्थायी घर भएका १२ वर्षका मिसन तुम्बापो फिदिम–९ सिवादोभानमा मावलीका वृद्ध हजुरबुवा हजुरआमासँग बसेका थिए । विद्यालय जानसक्ने अवस्था थिएन । शिक्षकहरुले भेटेर उनलाई आवासमा ल्याए । अहिले उनी कक्षा ४ मा पढ्दैछन् । उनका बावु र आमाले कतिवटा विवाह गरे भन्ने टुङ्गो छैन । उनकी आमाको चौथो विवाहपछि मिसन जन्मिएको बुझिएको शिक्षकहरु वताउँछन् । मावली वा आफन्तकहाँ केही काम परे मिसन त्यता जान्छन् । तर धेरै समय बस्दैनन् र गइरहन पनि रुचाउँदैनन् । उनका लागि खुशी र आफ्नोपना जागृति आधारभूत विद्यालयको आवासमै छ । “चाडपर्व, विवाह, भतेर आदिमा पठाइदिन्छौँ”, प्रधानाध्यापक लुइटेलले भन्नुभयो, “तर उनी विद्यालयमा बस्न नै खुशी मान्छन् ।”

बालबालिकालाई विद्यालय ल्याउन आवासीय व्यवस्था

यो विद्यालयको सेवा क्षेत्रमा हिलिहाङ गाउँपालिकाका माझीटार, तम्फुवा र सीमखर्क, फिदिम नगरपालिकाका माझीटार, सालघारी, सरखण्डे र शिवादोभान तथा कुम्मायक गाउँपालिकाको निवुदोभानलगायतका टोलहरु पर्दछन् । गरीबी, अशिक्षा र अज्ञानताले यहाँका किशोर–किशोरीहरुले १४–१५ वर्षमै विवाह गर्छन् । “जवान पुग्दा ३–४ जना नानीका आमा–बावु भइसकेका हुन्छन्”, प्रधानाध्यापक लुइटेलले भन्नुभयो, “बुझ्ने भएपछि खटपट हुन्छ र अर्को बिवाह गर्छन् ।” अधिकांशको यही चक्रले उनीहरुका नानीहरु बेवारिसे हुने गरेका छन् । “एक त दोश्रो विवाह वा बहुविवाहका कारण बालबालिका पीडित छन् भने अर्कोतर्फ बिहान बेलुकी भातै खान नसक्ने अवस्थाका परिवारले नानीहरुलाई विद्यालय पठाउन सक्ने नै भएनन्”, प्रधानाध्यापक लुइँटेलले भन्नुभयो ।

सेवा क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालय आउन नसक्ने अवस्था देखेपछि तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले साथ दिएपछि आवास निर्माण थालिएको थियो । शिक्षा कार्यालय र जिल्ला विकास समितिबाट विभिन्न शीर्षकमा आएको बजेटबाट तीन कोठे भवन बनाई विद्यार्थी राखिएको प्रधानाध्यापक लुइँटेल सम्झनुहुन्छ । विसं २०७२ मा १३ जनाबाट शुरुआत भएको उक्त आवास एक वर्षभित्र झण्डै बन्द भएको थियो । “राज्य पुनर्संरचनाका क्रममा हामीले कतैबाट बजेट पाउन नसक्दा झण्डै बन्द नै गर्नुप¥यो”, प्रधानाध्यापक लुइँटेलले भन्नुभयो, “कोही आफन्त वा साहरा दिने अभिभावक भेटिएका बालबालिकालाई घर पनि फर्कायौँ ।”

बजेट अभावले आवासमा एक समय छ जना मात्रै विद्यार्थी पनि राखिएको थियो । एक जना सहयोगीलाई मासिक रु तीन हजार पारिश्रमिक दिएर बालबालिकाको हेरचाह गर्न राखिएको लुइटेल सम्झनुहुन्छ । “लत्ताकपडादेखि खाद्यान्नसम्म मागेर पनि बालबालिकाको पढाई धान्यौँ”, उहाँले भन्नुभयो । सो समयमा पाँचथर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष मित्रप्रसाद काफ्ले लगायतले गरेको सहयोग आफूले सधैँ सम्झिरहने लुइँटेलको भनाई छ ।

स्थानीय तह निर्माणपछि भने फिदिम नगरपालिकाले आवास सञ्चालनमा भरथेग गर्न थाल्यो । आवासमा बसेर पढेका विद्यार्थीहरु अहिले कक्षा नौ मा पुगेका छन् । उनीहरुमध्ये अधिकांश फिदिम–४ स्थित सुखबोध माध्यमिक विद्यालयमा अध्ययनरत छन् । “यहाँ बसेका धेरै विद्यार्थी तीक्ष्ण क्षमताका छन्”, लुइँटेलले भन्नुभयो, “केही त कक्षामा निरन्तर उत्कृष्ट भइरहेका छन् ।”

विद्यालयलाई सधैँ अभावै

विगत तीन आर्थिक वर्षदेखि फिदिम नगरपालिकाले आवासीय विद्यालय सञ्चालनका लागि बजेट छुट्याउँदै आएको छ । नगरपालिकाले अघिल्ला दुई आर्थिक वर्षमा विभिन्न शिर्षकमा क्रमशः रु तीन लाख र पाँच लाख बजेट दिएको थियो । चालू आवमा भने आवासीय विद्यालय सञ्चालनकै लागि भनेर रु पाँच लाख बजेट छुट्याएको छ तर यति बजेटले आवास सञ्चालनको खर्च धान्न कठिन परेको प्रधानाध्यापक लुइँटेलको गुनासो छ । आवासमा बस्ने विद्यार्थीको हेरचाह तथा विहान–बेलुकी पठनपाठन गराउने एक जना शिक्षिका, एक जना वार्डेनलाई तलबसमेत सोही बजेटबाट दिनुपर्ने बाध्यता छ । विद्यालयसँग अन्य आर्थिक स्रोत नहुँदा आवास सञ्चालन कठिन भएको उहाँको भनाइ छ ।

“आवासमा बालबालिकाका आवश्यकता पूरा गर्दा दैनिक न्यूनतम रु एक हजार ८०० खर्च आउँछ”, लुइटेलले भन्नुभयो, “विद्युत्, लत्ताकपडा, स्वास्थ्य सेवा आदिमा उत्तिकै खर्च लाग्छ ।” बालबालिकाको हेरचाह गर्ने, खाना दिएर विद्यालय पठाउनसमेत नसक्ने अवस्थाका परिवारका बालबालिकालाई मात्रै आवासमा राखिएको प्रधानाध्यापक लुइँटेलको भनाइ छ । “यत्तिको व्यवस्था पनि नभएका घरका नानीहरुलाई मात्रै यहाँ राखेका हौँ”, लुइँटेलले भन्नुभयो, “समस्या भोगिरहेका विद्यार्थीको सङ्ख्या त ठूलो छ ।” चलाउनैपर्ने बाध्यताले मात्रै आवास चलेको लुइटेलको प्रष्टीकरण छ ।

बालबालिकाको हेरचाह गर्न गाह्रो

आवासमा बस्ने सात वर्षदेखि १४ वर्षका २५ जना बालबालिकाको हेरचाहको जिम्मा शिक्षिका मालिका सुब्बा र वार्डेन विमला तामाङको हो । “विहानदेखि राती नसुत्दासम्म उनीहरुको खानपान, सरसफाई, पढाइलगायतमा हामी तल्लीन हुन्छौँ”, शिक्षिका सुब्बाले भन्नुभयो, “दुई जनाले यति धेरै काम गर्न कठिन पर्ने गरेको छ ।”

बाहिर हिँड्न नदिनेदेखि माया ममता दिने दायित्व पनि विद्यालय परिवारको छ । “नसक्ने बालबालिकाका कपडासमेत मैले धोइदिनुपर्छ । बिहानदेखि बेलुकीसम्म चार साँझ खानेकुरा बनाउन र सरसफाइ गर्न नै हम्मेहम्मे पर्छ”, वार्डेन विमला तामाङले भन्नुभयो । धेरै विद्यार्थी रहेकाले आफूलेसमेत प्रायः विद्यालय छोड्न नपाउने प्रधानाध्यापक लुइँटेलको भनाइ छ ।

एक महिनाअघि मध्यरात शिक्षिका सुब्बाले प्रधानाध्यापक लुइँटेललाई फोन गरेर आवासमा बसेको विद्यार्थी १४ वर्षीय फुङ्सो जबेगु हराएको सुनाउनुभयो । आठ किलोमिटर टाढा घरबाट मोटरसाइकलमा विद्यालयतर्फ आउँदै गर्दा विद्यालयभन्दा करीब दुई किलोमिटर पर हिँडिरहेको अवस्थामा लुइँटेलले आफ्नो विद्यार्थी भेट्नुभयो । साथीसँग झगडा परेपछि शौचालय जान्छु भनेर हिँडेका विद्यार्थी फिदिमतर्फ जाँदै गरेका भेटिएका थिए । “यस प्रकारका घटना त भइरहन्छन् । थोरै मान्छेले धेरै विद्यार्थी सम्हाल्न निकै कठिन परेको छ”, प्रधानाध्यापक लुइँटेलले भन्नुभयो ।

शिक्षक र सहयोगीको स्थायी दरबन्दी माग

सरकारी व्यवस्थाअनुसार विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम हुन्छ । पछिल्लो सातामात्रै फिदिम नगरपालिकाले विद्यालयमा दरबन्दी मिलानका लागि छलफल गरेको थियो । विद्यार्थी सङ्ख्या कम भए पनि स्थानीय समस्या बुझेर दरबन्दी थपिदिन आफूले आग्रह गरेको प्रधानाध्यापक लुइँटेल बताउनुहुन्छ । “साथीहरु (अन्य विद्यालयका प्रधानाध्यापक) तपाईंको विद्यालयलाई रु पाँच लाख बजेट दिइएको छ । अरुले एक लाख पनि पाएका छैनौँ भन्नुहुन्छ”, लुइटेलले भन्नुभयो, “तर हाम्रो समस्या कसैले बुझिदिएन ।” आवास सञ्चालनको बजेटलाई वृद्धि गरी एक जना शिक्षक र एक जना सहयोगीको दरबन्दी पाए विद्यालय सञ्चालन सहज हुने लुइँटेलको भनाइ छ ।

कक्षा छसम्म चलेको विद्यालयमा अहिले चार जना शिक्षक दरबन्दी तथा एक जना अन्य स्रोतबाट शिक्षक राखिएका छन् । आवास सहजरुपमा सञ्चालनका लागि थप सहयोग गर्न फिदिम नगरपालिकामा आफूले पटकपटक आग्रह गर्दै आएको उहाँको भनाइ छ । “मैले यहाँ पढाएको २० वर्ष भयो । कुनै पनि अभिभावकले कुनै सहयोग जुटाउन सक्ने अवस्था छैन”, लुइँटेलले भन्नुभयो, “म एउटा धाएको धाएकै छु ।” पूर्वाधारदेखि आवाशका लागि सहयोग गर्न दलका कार्यकर्ताहरु मार्फत प्रदेश सरकारसँग बजेट माग गरेपनि कसैबाट सम्बोधन नभएको उहाँको दुःखेसो छ । “मेरो पहुँच नभएर हो कि के हो थाहा भएन”, लुइँटेलले भन्नुभयो, “तर यस्तो बेहाल रहेको विद्यालयलाई जिल्लाकै आर्थिक मामिला मन्त्रीले चासो दिनुभएन ।”

माथिल्लो कक्षामा झनै समस्या

जागृति आ.वि.ले अहिले कक्षा छसम्म पठनपाठन गराइरहेको छ । कक्षा ७ का लागि स्वीकृति दिन माग गर्दै निवेदन पनि दिएको छ । सदरमुकाम नजिकै भए पनि यहाँबाट अर्को विद्यालय पुग्न करिब डेढ घण्टा पैदल यात्रा गर्नुपर्छ । समयमा सवारीसाधन नपाइने समस्या त छँदैछ यहाँका अधिकांश परिवारले आफ्ना छोराछोरीलाई दैनिक भाडा तिरेर विद्यालय पठाउन नै सक्दैनन् । विद्यालय टाढा हुँदा धेरै विद्यार्थीले पढाई छोड्ने गरेको प्रधानाध्यापक लुइटेलले देख्नुभएको छ ।

“एक÷दुई दिन ट्र«्याक्टरमा झुण्डिएर जान्छन् । कहिले गाडी कुर्दा कुर्दै बाटोमै १० बज्छ त कहिले हिँड्दाहिँड्दै भोकाउँछन्”, लुइँटेलले भन्नुभयो, “त्यसपछि स्कूल जानै छाडिदिन्छन् ।” सेवा क्षेत्रका हिसाबले यो विद्यालयलाई कक्षा आठसम्म पु¥याउनैपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । “नौ कक्षामा पुगेपछि उनीहरु आफैँ अलि बुझ्ने र परिपक्व हुन्छन् । पढ्नुपर्छ भन्ने चेतना आउँछ र अर्काको घरमा काम सघाएर पनि पढ्न सक्छन्”, लुइँटेलले भन्नुभयो, “यसतर्फ सरकारी निकायले सोचिदिउन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !