११ पुस २०८१, बिहीबार

विद्यालय सञ्चालनको तरखरमा स्थानीय तह


बालविकास केन्द्र

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीले दुई दिनअघि अभिभावक भेला डाक्यो । गत चैत महिनायता बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउन स्थानीय तहले अभिभावकको राय सङ्कलन गर्न भनेबमोजिम ग्लोबलले आयोजना गरेको भेलामा अभिभावकका मिश्रित सुझाव आए ।

यहाँको भीमदत्त नगरपालिकाले विद्यालय सञ्चालनका निजी तथा सामुदायिक विद्यालयलाई आग्रह गरेपछि विद्यालय सञ्चालक र व्यवस्थापन समिति अभिभावकको राय लिन व्यस्त छन् । भेलामा अधिकांश अभिभावकले विद्यालयमा बालबालिकाको भौतिक दूरी कायम, स्वास्थ्य सर्तकतालगायतका मापदण्ड अपनाएर दिनमा दुई पालोमा सञ्चालन गर्न राय दिएपछि नगरपालिकालाई निर्णयसहितको पत्र पठाएको ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र ओझाले बताउनुभयो ।

“अभिभावक भेलाको निर्णय, आवश्यक व्यवस्थापन र शिक्षकलगायतका सबै व्यवस्थापनसहितको निर्णय कपी हामीले नगरपालिकामा पठाएका छौँ”, प्रिन्सिपल ओझाले भन्नुभयो, “नगरपालिकाले केही दिनभित्र विद्यालय सञ्चालनका लागि पत्राचार गर्ने भनेको छ ।” उहाँले विद्यालयमा भौतिक दूरी, मास्क, स्यानिटाइजरलगायतका व्यवस्थापन गरेर मात्रै अध्यापन गराउने बताउनुभयो । “बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र १ देखि ४ बजेसम्म दोस्रो सिफ्टमा कक्षा सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो, “यसरी गर्दा दुई सिफ्टमा २०० विद्यार्थी स्कूलमा आएर अध्ययन गर्नेछन् ।”

उहाँले लकडाउनअघि विद्यालयमा ४०० विद्यार्थी रहेको बताउनुभयो । “लकडाउन अवधिमा अनलाइन कक्षा सञ्चालन गरिए पनि सानो कक्षामा त्यति प्रभावकारी हुनसकेन”, ओझाले भन्नुभयो, “कोरोनाले अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित बन्न पुग्यो ।”

त्यसैगरी भीमदत्त–१३ बडैपुरमा रहेको बालविद्या निकेतनले सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर सञ्चालन गरिरहेको छ । “हामीकहाँ अहिले २५ प्रतिशत मात्रै विद्यार्थी अध्ययनरत छन्”, बालविद्या निकेतनका प्रिन्सिपल कृष्ण साउदले भन्नुभयो, “हामीले अभिभावकको भेलाबाट सहमति लिएर स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरेका हौँ ।” उहाँले सामाजिक दूरी कायम र नियमित विद्यार्थीको तापक्रममापन, मास्क अनिवार्य र दैनिक विद्यालयमा साबुन पानीले हात धुने व्यवस्थासमेत मिलाइएको जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताउनुभयो ।

“निर्देशिकामा विभिन्न सातवटा विकल्प छन्”, सुवेदीले भन्नुभयो, “त्यसमा उपयुक्त विकल्प छानेर सञ्चालन गर्नुपरे सम्बन्धित पालिकामा स्वीकृति लिनुपर्ने भनिएको छ ।” उहाँले आइतबार जिल्ला विपद् व्यवस्थापन समितिले पनि विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ अनुसार पालिकाको सहमति लिई उपयुक्त विकल्पमा कक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेको बताउनुभयो ।

कञ्चनपुरमा पछिल्लो केही समययता विद्यालय सञ्चालनमा आउने क्रम जारी रहेको सुवेदीले जानकारी दिनुभयो । यहाँ २४९ निजी र २६१ सामुदायिक विद्यालय छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले पालिकाभित्र विद्यालय सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले आजदेखि कक्षा ९ देखि १२ सम्म र मङ्सिर २१ गतेदेखि सबै विद्यालय सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिनुभयो । “आजसम्म विद्यालयलाई कुन विधि र विकल्पबाट सञ्चालनमा ल्याउने भनेर अभिभावक भेला, जनप्रतिनिधि र सङ्घसंस्थाको रायसहित निर्णय लिएर आउन भनेका छौँ”, चन्दले भन्नुभयो । वेदकोट नगरपालिकाले विद्यालयमा स्यानिटाइजर र स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने चन्दको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !