कृषि र नेपालको भविष्य

नेपालपत्र, १७ असार २०७५ । नेपाल कृषिप्रधान देश हो । वर्तमान अवस्थामा पनि करीव ७० प्रतिशत जनता कृषिमा निर्भर रहेका छन् । तर प्रत्येक साल कृषिजन्य उत्पादनमा हाम्रो परनिर्भरता भने बढ्दै गएको छ । सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित छ । कृषिमा वास्तविक योजना बनाई त्यसलाई लागू गर्ने प्रयास भएको देखिँदैन । त्यसैले नै हरेक वर्ष आयातको क्रम बढिरहँदा खर्बौं रुपैयाँ बाहिइरहेको छ । सरकारको नीतिगत अदूरदर्शिता, अनुसन्धान र विज्ञताको कमी, बजारमा बिचौलियाको चलखेलजस्ता कारणले हाम्रो देशमा कृषि क्षेत्रले अधोगतिको सामना गरिरहेको छ ।

पूर्बधारको अभावमा कृषि क्रान्तिको नाराले सार्थक रुप लिन सकेको छैन । प्रत्येक सरकार परिवर्तनसंगै कृषिलाई प्राथमिकतामा राख्ने गरिएको छ तर उपलब्धि भने लक्ष्य अनुरुप हुन सकेको छैन । यसको मुख्य दोष भनेको सरकारको नीति स्थिर नहुनु नै मुख्य कारण हो । स्पष्ट नीति र त्यसको सफल कार्यन्वयनको अभावले नै आज कृषिमा देश अगाडि बढ्न सकेको छैन ।

कृषिको आधुनिकीकरणका लागि नीतिगत, प्राविधिक विषयमा जटिल गृहकार्य गर्नुपर्ने हुन्छ। जमिन र बजारको व्यवस्थापन, बीउबिजनमा अनुसन्धान, उत्पादनलाई बजारसम्म जोड्ने पूर्वाधार, तिनको उचित मूल्य निर्धारणसम्मका कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

समृद्धिको नारा सुन्दा कर्णप्रिय छ । तर समृद्धि यत्तिकै आउने होइन । समृद्धिका लागि उत्पादन आवश्यक छ । नेपालको उत्पादनको मुख्य आधार कृषि नै हो । त्यसैले कृषिजन्य उत्पादनमा जोड नदिई समृद्धि हासिल गर्न सकिँदैन । कृषिजन्य उत्पादनमा आधारित उद्योग मात्र हाम्रो समृद्धिका आधार बन्न सक्छन् । त्यसैले समृद्धिका लागि राज्यले कृषिमा लगानी गर्न जरुरी छ । कृषि क्षेत्रमा देखिएको श्रमदेखि बीउबिजन र सिँचाइलगायतका समस्यामा ध्यान पुर्‍याउन आवश्यक छ । सरकारले सार्वजनिक हितहुने गरी कृषकमैत्री नीति ल्याउनु पर्दछ  । नेपालको धेरै जनसंख्या अझै पनि कृषिमा आधारित भएकोले कृषिको विकास नै नेपाल समृद्धिका आधार बन्न सक्छन् ।