६ बैशाख २०८१, बिहिबार

गणतन्त्र नेताको मात्र विजय र जनताको पराजय नहोस् !


गणतन्त्र

काठमाडौँ, १५ जेठ । दोस्रो जनआन्दोलनको सफलतासँगै नेपालमा गणतन्त्र आउने बाटो खुल्यो । पहिलो संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई गणतन्त्र घोषित गरेको थियो । आज नेपालमा गणतन्त्र आएको १३ वर्ष पुरा भइसकेको छ तर, गणतन्त्रपछि सत्ताको चरित्र र प्रवृत्तिमा जनमुखी परिवर्तन होला भन्ने जनअपेक्षा भने अझै पूरा भएको छैन ।

जनताले आशा गर्ने कुनै अवसर पाउन सकेका छैनन् । मुख्यगरी अहिले गणतन्त्रको फाइदा नेताले मात्र लिने अवस्था बनेको छ । देश नेता उत्पादन गर्ने र उनीहरुलाई राज्यकोषबाट पाल्नुपर्ने स्थितिमा रहेको छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनता मारमा परेका छन् । जनताले विकास र सम्बृद्धिको सपनामा परेर नेताको लागि मात्रै बलिदानी दिएको झैँ बनेको छ अहिलेको अवस्था ।

तर नेताहरू भने अहिले पनि जनताको दिवस हो भन्ने नारामै सीमित रहेका छन् । जनताले अनुभव गर्ने गरी कुनै लाभ लिने अवसर पाएका छैनन् । नेताले भने अवसर नै अवसर पाईरहेका छन् । यो अवस्था हेर्दा नेताको विजय र जनताको पराजय भएको मान्न सकिन्छ । सत्ता परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने जनता हुन् तर अहिले जनताले नै आफुले ल्याएको सत्ताको सही उपयोग गर्न पाईरहेका छैनन् । किन यस्तो अवस्था छ ?  कारण के हो ? संबन्धित सरोकारवालाले सोच्नुपर्ने बेला भएको छ ।

वास्तविक भन्ने हो भने जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन हो गणतन्त्र दिवस । यो आम नेपालीको दिवस हो । केन्द्रिकृत राज्य प्रणालीवाट सङ्घीयतामा देश जानु भनेको नै विकास, समृद्धि, सुशासन एवं स्थिरता गन्तव्य तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्धको कार्यको प्रत्यक्ष जनताले महशुस गर्ने र अनुगमन गर्ने अवस्थामा पुग्नु हो ।

सुशासन र विकासको निगरानी जनताले गर्न पाउनु हो । त्यतिमात्र होइन रोजगारीको अवसर सिर्जना, उत्पादन वृद्धि, उपभोगका वस्तुमा आत्मनिर्भरता हुने अवस्था बनाएर जनताको कष्ट हटाउने वातावरणको लागि सत्ता परिवर्तनको संवाहक बनेका हुन् जनता । त्यसैले जनताको अपेक्षा पुरा गरेर नेता र जनता दुबैको विजयको दिन बन्न सकोस गणतन्त्र दिवस न कि नेताको विजय र जनताको पराजय ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !