झिमरुक, २७ वैशाख । प्युठान अस्पतालमा आइसोलेशन बेड निर्माणका लागि स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । विपद् व्यवस्थापन समितिको बैठकले अस्पतालमा आइसोलेशन बेड थप्न पालिकालाई अनुरोध गर्ने निर्णय गरेसँगै स्थानीय तहले सहयोग गरेका हुन् । कोरोना भाइरसको संक्रमण भएका बिरामीलाई छुट्टै शय्यामा राखेर उपचार गर्न लागिएको हो ।
शुरुआतमा अस्पतालमा चार शय्या निर्माण गरिए पनि अहिले पालिकाले सहयोग गर्न थालेपछि तीन थप गरिएको अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा अमृत पन्थीले बताउनुभयो । आइसोलेशन बेड निर्माणका लागि जिल्ला समन्वय समितिले रु पाँच लाख तथा मल्लरानी गाउँपालिका र गौमुखी गाउँपालिकाले रु अढाइअढाइ लाख सहयोग गरेको डा.पन्थीले जानकारी दिनुभयो ।