११ मंसिर २०८१, मंगलबार

एनआइसी एसियाको सिईओमा न्यौपानेलाई नियुक्त


रोशनकुमार न्यौपाने

मंसिर १६, काठमाडौं । एनआइसी एसिया बैंकले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरेको छ। बैंकको प्रमुख कार्यकारी अधिकृत पद ९ महिनादेखि रिक्त थियो । लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपानेले कामु प्रमुख कार्यकारीका रुपमा बैंकको नेतृत्व गरिरहेका थिए । त्यसअघि उनी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। न्यौपाने चार्टर्ड एकाउन्टेन्ट हुन् । न्यौपानेलाई आइतबार बसेको बैंक सञ्चालक समितिले आजैबाट लागू हुने गरी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

उनले कुबेर एण्ड कम्पनी तथा पिएल श्रेष्ठ कम्पनीजस्ता चार्टर्ड एकाउन्टेन्ट फर्ममा काम गरिसकेका छन् । तत्कालिन बैंक अफ एसियामा समेत काम गरेका न्यौपानेको पालामा बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँ पुगेको छ। बैंक अफ एसियामा उनले आन्तरिक लेखापरीक्षण विभाग प्रमुख भएर काम गरेका थिए । उनले प्रमुख जोखिम अधिकृत भएरसमेत काम गरेका थिए ।

नव नियुक्त प्रमुख कार्यकारी न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आजै अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले साना तथा मझौला क्षेत्रमा ऋण विस्तार गर्दै उत्पादनमूलक क्षेत्र लगानी गर्ने आफ्नो योजना सुनाए । उनले देशका सबै कुनाकाप्चामा पुगेर बैंकिङ सेवा उपलब्ध गराउन शाखा विस्तारलाई अझै बढाउने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !