७ बैशाख २०८१, शुक्रबार

बाढी पहिरो र डुबानले चर्कियो तरकारीको मूल्य


vegitable market

श्रावण १२, २०७३- बाढी पहिरो र डुबानले विराटनगरमा तरकारीको अभाव हुनुका साथै मूल्य अकासिएको छ । अविरल वर्षाका कारणले बजारमा मुस्किलले ३० प्रतिशत तरकारी व्यवसायीको मात्र उपस्थिति देखिन्छ । हरियो एवं ताजा सागपातको बजारमा अभाव छ ।

बाढीअघि प्रतिकिलो ४० रुपैयाँसम्ममा पाइने भिन्डीको मूल्य ८० रुपैयाँ र ८० रुपैयाँ किलोको हरियो खुर्सानी २ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम ३० रुपैयाँमा पाउने करेलाको ६० रुपैयाँ, १५ रुपैयाँ पर्ने घिरौंलाको ५० रुपैयाँ र २५/३० रुपैयाँमा उपलब्ध हुने आलुप्याजको मूल्य ४० देखि ५०/५५ रुपैयाँसम्म पुगेको छ ।

‘दुई सय रुपैयाँले चार थरीका तरकारी किन्न पुग्थ्यो,’ विराटनगर संगमचोककी ४० वर्षीया गृहिणी हेमकुमारी भुजेलले भनिन्, ‘अहिले दुई वटैमा चित्त बुझाउनुपर्छ ।’ पानीले गलेको एवं कुहिएको लट्टे र निग्रोजस्ता सागका लागि महँगै दाम तिर्नुपर्छ ।

प्रतिकिलो ४० रुपैयाँमा पाइने लट्टे सागको मूल्य ८० रुपैयाँ र प्रति मुठ्ठा १० रुपैयाँको निग्रो २५ रुपैयाँमा बेचिँदै छ । प्रतिकिलो १ सय २० रुपैयाँमा बेचिने स्थानीय लसुनको २ सय रुपैयाँ, ४० रुपैयाँको परवलको ८० रुपैयाँ, ८० रुपैयाँको चठेलाको १ सय २० रुपैयाँ र काउलीको दाम १ सयबाट २ सय रुपैयाँ पुगेको छ ।

हरेक तरकारीमा प्रतिकिलो कम्तीमा २० रुपैयाँसम्म बढेको स्थानीय गुद्री हाटका व्यापारी पप्पुकुमार मेहताले बताए । स्थानीय तरकारी पाउनै कठिन भएको हुनाले किन्दै महँगो परेको बताए । यो उप महानगरको बजारमा मोरङकै ग्रामीण भेकका बाहेक सुनसरी र विहारका किसान एवं व्यापारीसमेत तरकारी बेच्न आउँछन् । साताको हरेक दिन पालैपिच्छै यहाँको मुख्य थलोहरूमा तरकारी बजार लाग्छ । ‘खेतबारी पानीले डुबेको र घाम नलाग्दा तरकारी बाली सुक्न एवं गल्न थाल्छ, कम उत्पादन हुँदा किसानले मोल बढाउँछन्,’ मेहताले भने ।

गुद्रीस्थित तरकारीको थोक मन्डीमा भने प्रतिकिलोग्राम भिन्डी ५० रुपैयाँ, करेला २५ रुपैयाँ, काँक्रा २९ रुपैयाँ, घिरौंला २० रुपैयाँ, हरियो खुर्सानी १ सय ५ रुपैयाँ, परवल ३५/४० रुपैयाँ, विदेशी लसुन २ सय रुपैयाँ, गोलभेडा २५ रुपैयाँ, चठेला १ सय रुपैयाँ, बन्दा १४ रुपैयाँ र काउली ४० रुपैयाँ मात्र पर्छ । यहाँको मूल्यभन्दा ठिक विपरीत खुद्रा बजारमा ५ गुणासम्म बढी मूल्यमा कुनैकुनै तरकारी बिक्री भइरहेको देखिन्छ ।

वर्षामा आधी तरकारी कुहिने र बचेको आधी जतिमा परेको मूल्य, ढुवानी खर्च र श्रमसमेत जोडेर खुद्रा बिक्रेताले बेच्दा महँगो भएको थोक कारोबारी प्रमोदकुमार झाले बताए । बाढी र डुबानमा परेर तरकारी कृषक एवं खुद्रा व्यवसायी पनि बजारमा कमै देखिएको उनले जनाए । अन्य एक कारोबारीले भने, ‘उनीहरू किन्न आइरहेका छैनन्, भएको तरकारी पनि सडिरहेको छ ।’

थोक सब्जी मन्डीमा करेला बेच्न आएका कटहरी नयाँ बजारका तरकारी किसान ४० वर्षे सन्तलाल सिंहले बाढीले उठ्नै नसक्ने गरी डुबाएको बताए । उनले डेढ बिघा खेतमा लगाएको काँक्रा, बोरी, करेला र भिन्डी दुई सातादेखि डुबानमा छ । बर्सेनि हरेक खाले तरकारी ५ सय किलोग्राम उत्पादन गर्ने सिंहले यस पटक पूरै निराश भएको बताए ।

‘टिप्न सुरु गरेका थियौं, वर्षाले सब खतम पार्‍यो,’ उनले भने । यस पटक सबै गरी ६६ क्विन्टल जति तरकारी टिप्न नपाउँदै बाढीमा सबथोक बर्बाद भएको सिंहले बताए । फुल नलाग्दै बोरी डुबेको र काँक्राको बोट मरेको उनले बताए । बाली नै सखाप हुने गरी यसअघि कहिल्यै पनि यति ठूलो पानी नपरेको सिंहले अनुभव सुनाए । ‘पानीमा डुबेपछि तरकारी गल्न थाल्छ, लागेको दाना बढ्दैन,’ उनले भने, ‘किरा बढी लाग्छ, पानीका कारणले औषधी/खाद पनि छर्कन सकिन्न ।’

पानीले गर्दा सूर्यको प्रकाश नपाएर बिरुवा सुक्न थालेको सिंहले बताए । प्रतिसय किलो तरकारीमा ५ किलो खराब निस्कने गरेको उनले जानकारी दिए ।’ गोलभेडाको मूल्य भने घटेको छ । स्थानीय तथा भारतीय किसानबाट भारी परिमाणमा उत्पादन भएर पहिला नै बजारमा पुगेको गोलभेडा कुहिन थालेकाले प्रतिकिलो ८० रुपैयाँबाट ४०/५० रुपैयाँमा झरेको छ । ‘अन्य मुख्य तरकारी नै महँगो भएपछि गोलभेडा मात्र सस्तो भएर के गर्ने ?’ स्थानीय सरोचिया टोलकी शान्ति पण्डितले भनिन् ।

भान्छाको बजेटलाई असन्तुलित हुन नदिन उनले बिहानबेलुका एक/एक थोक तरकारी मात्र पकाउने गरेको बताइन् । महँगोको साथै बजारमा उपलब्ध तरकारीको खराब गुणस्तरका कारणले धेरै थरीका भन्दा एउटै तर सफा तरकारी खुवाउने गरेको यहाँस्थित ट्राफिकचाकका एक प्रतिष्ठित होटल व्यवसायीले बताए ।

यहाँको मुख्य सब्जी मन्डी गुद्रीका अर्का थोक बिक्रेता किशोरी सिंहले भारी परिमाणमा तरकारी कुहिने र खराब बाटोका कारणले लाग्ने भाडाको कारणले मूल्य बढेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !