
काठमाडौँ । २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको थियो ।
सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका लामालाई पक्राउ गरेको थियो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।