६ फाल्गुन २०८२, बुधबार

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित


नागरिक लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सोमबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाख रुपैयाँबाट सात प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारणसभाले कोषका अध्यक्ष प्रा. डा. सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब दुई अर्ब सात करोड संकलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको बताए । त्यस्तै, चालु आर्थिक वर्ष २०८१-८२ को असोज मसान्तसम्ममा संकलित दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

कोषले गत आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब सात करोड ६४ लाख कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा एक अर्ब १५ करोड ८७ लाख रहेको छ । उक्त खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी २६ करोड ९० लाखबाट सात प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए । ‘कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । साथै, अनावश्यक बैंक खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने काम भइरहेको छ,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !