१४ कार्तिक २०८१, बुधबार

मेची भन्सार कार्यालयद्वारा तीन अर्ब ५८ करोड राजस्व संकलन


मेची भन्सार कार्यालय

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व संकलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।

चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार संकलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजारले बढी हो ।

आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व संकलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !