१३ असार, झापा । निजी बीमा कम्पनीले गर्दै आएको पशुपक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैले शुरु गर्ने भएको छ ।
नगर पशुपक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तक्र्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो ।
सो कामका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी लागू गरिने उहाँको भनाइ छ । “जनतालाई प्रत्यक्ष सेवा पुग्ने कार्यक्रम भएको हुँदा प्राथमिकतामा राखेर हामी आफैँ शुरु गर्छौं”, उहाँले भन्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।(रासस)