७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलनको उद्घाटन


प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले तेस्रो लगानी सम्मेलनको उद्घाटन गरेका छन् । विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आजदेखि काठमाडौंमा दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा लगानीका निम्ति ९ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् । लगानी बोर्डले दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा विश्वभरका १६०० भन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको छ ।

सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशबाट १६०० लगानीकर्ता सहभागी हुने लगानी बोर्डको कार्यालयले जानकारी दिएको हो । बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएमध्ये १६०० जना सहभागी भएका हुन् ।

लगानी सम्मेलनमा नेपालका सबैभन्दा धेरै लगानीकर्ता सहभागी हुने बताइएको छ । नेपालबाट ३८५ जना लगानीकर्ता सहभागी हुने बोर्डको कार्यालयले जनाएको छ । यस्तै चीनबाट २६५ जना र भारतबाट १४३ जना सहभागी भएका हुन् ।

तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ । आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !