२ कार्तिक २०८१, शुक्रबार

महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन : उमेश र अञ्जन भिड्ने


उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने भएको छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुने भएको हो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष उम्मेदवारले ५० प्रतिशत मतभार कटाउनुपर्ने हुन्छ । कसैको पनि नपुगेपछि आज बिहीबार दिउँसो २ बजेदेखि ५ बजेसम्म पुनः मतदान हुने भएको छ ।

प्राप्त मतभारका आधारमा वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरेका छन् भने उमेशलाल श्रेष्ठले ३१.५१ मत प्राप्त गरेका छन् । साथै रामचन्द्र संघईले ३०.४६ मत प्राप्त गरेका छन् ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको १६२० मतमध्ये संघईले ६१३ मत प्राप्त गरे साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गर्नुभयो । साथै ८ मत बदर भयो ।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरे । साथै ३ मत बदर भयो । वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेृशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गरे भने एक मत बदर भयो ।

महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । साथै जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् भने एसोसिएट उपाधयक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

दोस्रो चरणमा प्रवेश गरेको निर्वाचनमा होमिएका उमेशलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव स्व. पुष्पलाल श्रेष्ठ र स्व. साहना प्रधानका सुपुत्र हुन् । राजनीतिक रुपमा उनी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

यता अञ्जन राजनीतिक रुपमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा निकट रहेका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !