काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका आज बिहान १० बजेदेखि सुरु भएर रोकिएको मतदान पुन: सुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केही समयका लागि रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको मतदान फेरि सुरु भएको हो ।
व्यवसायीको भीडले आ-आफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान अवरुद्ध भएको थियो । नेपाल प्रहरी आएर भीड व्यवस्थित गरेपछि मतदान फेरि सुरु भएको हो ।
महासंघको विधानअनुसार उक्त साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।
साधारणसभाले महासंघका नयाँ वरिष्ठ उपाध्यक्षलगायत अन्य पद भने चुनावमार्फत चयन गर्नका लागि आज मतदान हुने भएको हो । नयाँ वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् ।
साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।
यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछन् ।