२४ बैशाख २०८१, सोमबार

नयाँ नेतृत्व चयनका लागि उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि सुरु हुँदै


नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ । नयाँ नेतृत्व चयनका लागि उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि काठमाडौँमा सुरु हुने भएको हो ।

होटल याक एन्ड यतीमा आयोजना हुने महासंघको साधारणसभा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औँ साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको विधानअनुसार उक्त साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।

साधारणसभाले महासंघका नयाँ वरिष्ठ उपाध्यक्षलगायत अन्य पद भने चुनावमार्फत चयन गर्नका लागि भोलि मतदान हुँदै छ । नयाँ वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !