८ बैशाख २०८१, शनिबार

अर्थमन्त्री शर्माद्वारा संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत


जनार्दन शर्मा प्रतिनिधिसभाको बैठक

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् । गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको हो ।

अर्थमन्त्री शर्माले संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय प्रस्तुत जारी रहेको छ । चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार्वजनिक भएको थियो ।

वर्तमान सरकार गठन भएपछि प्रतिस्थापन विधेयकमार्फत बजेटमा समावेश केही नीति तथा कार्यक्रम र सीमामा सामान्य हेरेफेर गरिएको थियो । शनिबार मात्रै प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक सर्वेक्षण पनि शनिबार नै सार्वजनिक भएको थियो ।

आर्थिक विकासमा सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशबाटै प्रतिनिधित्व गर्ने अर्थमन्त्री शर्माले प्रस्तुत गर्न लागेको आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

कोरोनाबाट सामान्य अवस्थामा फर्किन लागेको मुलुकको अर्थतन्त्र रुस र युक्रेन संघर्षका कारण बाह्य क्षेत्र चापमा परेको छ । विदेशी मुद्राको सञ्चिति ओरालो लाग्दै गएका सन्दर्भमा आगामी आवको बजेटमार्फत धेरै विषयमा सम्बोधन गर्नुपर्ने माग चौतर्फी रुपमा उठेको छ ।

औद्योगिक वातावरण तयार पार्ने, कृषि क्षेत्रको विकास र उन्नयनलाई केन्द्रमा राखेर बजेट तयार पारिएको अर्थमन्त्रालय सम्बद्ध अधिकारीको भनाइ छ ।

यस्तै केही ठूला आयोजनालाई पनि बजेटले सम्बोधन गर्नेछ । बूढीगण्डकी जस्ता आयोजना सरकारले आन्तरिक लगानीमा नै निर्माण सुरु गर्ने तयारी गरेको छ । शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि स्रोतको अभाव नहुने र व्यवस्था गरिसकिएको जानकारी दिएका छन् ।

कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना मुलुकको ऊर्जा सुरक्षाका लागि पनि आवश्यक छ । यस्तै पेट्रोलियम पदार्थको निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रवद्र्धन, विद्युतीय चुल्होको प्रयोगमा बढावा दिने, कृषि सिँचाइ तथा सुख्खाटारको सिँचाइलगायतका विषयलाई बजेटले प्रमुख प्राथमिकतामा राखेको छ ।

बजेटको सैद्धान्तिक विषयमा छलफलका क्रममा नै अर्थमन्त्रीले बजेटको प्राथमिकताका बारेमा सामान्य जानकारी दिइसक्नुभएको छ । आन्तरिक खपतका लागि पैठारी नगरे पनि हुने केही वस्तुमा करको दर वृद्धि, करको दायरा विस्तारलगायतका विषयलाई पनि बजेटले सम्बोधन गर्नेछ ।

हिजो शनिबार मात्रै अर्थमन्त्रीले बजेटका विषयमा सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराइसकेका छन् । मन्त्रिपरिषद्को आजै बसेको बैठकले बजेट पारित गरेपछि अर्थमन्त्रीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !