काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण सङ्कटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ । आम मानिसले सामान्य छलफलमा भन्ने गरेका छन्– पैसाको अभाव हुन थाल्यो ।
सरकारको विकास खर्च पनि उल्लेख्यरुपमा बढ्न सकेको छैन । बरु आयातको मात्रा भने उल्लेख्य वृद्धि भयो । त्यसले वैदेशिक मुद्रामा चाप परेको छ । सरकारले एकमुष्टरुपमा समस्याको समाधान गर्न लागिपरेको बताएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले देशभित्र देखिएको आर्थिक सङ्कटको निरुपणका लागि अर्थ मन्त्रालयले सरोकार भएका निकायसँग निरन्तर संवादमा रहेको बताएका छन् ।
यी र यस्ता अवस्था मुलुकभित्र देखिएको भए पनि घरजग्गाको कारोबारमा तरलता अभावले कुनै पनि समस्या नपारेको जस्तो देखिन्छ । विसं २०७८ मा मात्रै देशभर ७१ अर्ब ५७ करोड ३१ लाख चार हजार ३१५ बराबरको राजस्व सङ्कलन भएको देखिन्छ ।
सरकारी विवरणमा प्राप्त भएको यो तथ्याङ्कभन्दा वास्तविकरुपमा घरजग्गाको कारोबार असाध्यै धेरै बढिरहने गरेको यससँग सम्बन्धित सरोकारवालाको भनाइ छ । घर जग्गाको कारोबार सरकारी मूल्याङ्कनका आधारमा मात्रै गर्ने गरेका छन् । तर व्यावसायिक कारोबार भने सरकारी मूल्याङ्कनभन्दा धेरै बढी हुने गरेको नेपाल राष्ट्र बैंकले केही समय पहिले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमासमेत उल्लेख थियो ।
विशेषगरी, शहरी तथा शहरोन्मुख क्षेत्रमा घरायसी प्रयोजनका लागि बढी मात्रामा घर जग्गाको कारोबार हुने गरेको छ । काठमाडौं उपत्यकामा सहजरुपमा राम्रा जग्गा पाउनै मुस्किल हुन थालेको छ । पछिल्ला दिनमा विशेषगरी इटहरी, मकवानपुरको हेटौँडा, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, कैलालीलगायत जिल्लामा बस्ती व्यापकरुपमा विस्तार भएको छ ।
शहरोन्मुख क्षेत्रमासमेत शहरीकरण तीव्ररुपमा विस्तार भएको छ । खेतीयोग्य जमिन क्रमशः खण्डीकरण हुँदै गएको छ । विप्रेषणबाट प्राप्त भएको रकम अनुत्पादक क्षेत्रका रुपमा मानिने घर जग्गामा खर्च भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ भर कूल १६ लाख २५ हजार ८५८ पटक घरजग्गाको कारोबार भएको छ । कारोबारबाट कूल १७ अर्ब १८ करोड चार लाख ६८ हजार ८५२ बराबरको पूँजीगत लाभकर सङ्कलन भएको देखिन्छ ।