२२ पुस २०८१, सोमबार

कृषि विकास बैंकमा अव विदेशी मुद्राको बैंक खाता खोल्न सकिने


कृषि विकास बैंकमा अव विदेशी मुद्राको बैंक खाता खोल्न सकिने

काठमाडौँ । कृषि विकास बैंकले ५५ वार्षिक उत्सवका अवसरमा गैह्र आवाशीय नेपालीका लागि विदेशी मुद्राको वचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गरेको छ । अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवात पश्चात विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् ।

यसबाट विदेशमा रहेका गैह्र आवाशीय नेपाली तथा विदेशी मुद्रामा तलव भत्ता प्राप्त गर्ने नेपालमा रहेको विदेशी नागरीकले आफ्नै घर-कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईट तथा https://onlineaccount.adbl.gov.np मा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका का.मु. विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले वताइन ।

सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धि वित्तीय वजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ । यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ । विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विफ्ट मार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

विदेशी मुद्राको खातामा प्रदान गरीने व्याजमा समेत यो बैंक अन्य बैंक भन्दा अगाडी रहेको छ । हालका लागि विदेशी मुद्राको मुद्धती खातामा ५.५ प्रतिशत र वचत खातामा ४.७५ प्रतिशत व्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको व्याजदर सम्वन्धि सुचनामा उल्लेख गरेको छ ।

यस अघि रेमिटान्स वचत खाता र रेमिटान्स मुद्धती खाता समेत सुरु गरी सेकेको र रेमिटान्स वचत खातामा ७.१० तथा रेमिटान्स मुद्धती खातामा ११.०५ प्रतिशत व्याज प्रदान गरिरहेको बैंकले जनाएको छ । यसका साथै विदेशमा रहेका नेपालीले रेमिटान्स पठाउने प्रयोजनका लागि विदेशबाटै अनलाईनका माध्यमबाट नेपाली मुद्रामा वचत तथा मुद्धती खाता खोल्न सकिनेछ ।

कृषि विकास बैंक लिमिटेडका सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न बैंक आक्रामक रुपमा प्रस्तुत भएको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हाले देखिनै बैंकले प्रविधिमा आधारीत सेवा प्रवाहमा जोड दिएको छ ।

अनलाईनका माध्यमबाट समेत खोल्न सकिने उक्त खाताहरु सुरुवात भएपश्चात देशमा विदेशी मुद्राको संचित वृद्धि हुने तथा बैंकको निक्षेपमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । बैंकका सवै जसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ ।

प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन बैंक सधै दत्तचित रहेको हाल बैंकर्स एसोसियसन समेतको नेतृत्व सम्हालेका बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले वताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !