काठमाडौँ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ । एक महिना अगाडिसम्म पाक्षिक साढे २ अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार अब पाक्षिकरुपमा १ अर्ब ५७ करोड घाटा हुनेछ ।
पछिल्लो पटक आइओसीबाट यही पुस १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४४ पैसा, डिलेलमा प्रतिलिटर दुई रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा रहेको सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।
निगमलाई हवाई इन्धन र मट्टितेलमा सामान्य नाफा रहेको छ । हवाई इन्धन (अन्तरराष्ट्रिय)तर्फ २६ रुपैयाँ ४४ पैसा र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ ७१ पैसा तथा मट्टितेलमा १६ रुपैयाँ ६२ पैसा नाफा रहेको छ । हवाई इन्धन र मट्टितेलको नाफाले निगमको नोक्सानी न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन । घाटा पूर्ति गर्न निगम पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाबमा रहेको छ ।
निगमले पछिल्लो पटक गत कात्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमका अनुसार अहिले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १३६, डिलेलको रु ११९ र एलपी ग्यासको बिक्री मूल्य प्रसिसिलिण्डर रु एक हजार ५७५ रहेको छ ।
पछिल्लो पटक नेपालमा मूल्य समायोजन पश्चात पनि भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३८ रुपौयँ २४ पैसा, डिजेल प्रतिलिटर ३१ रपैयाँ ३१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा नेपालतर्फ सस्तो रहेको सहप्रवक्ता कार्कीले जानकारी दिएका छन् ।