काठमाडौं । अन्तत: सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । आजै मात्र धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानामाथि छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यक्ष ढुङ्गानामाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो । जसमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।
सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न समिति गठन गरेको हो । सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा लिएको समाचार सार्वजनिक भएपछि अनुसन्धानका लागि समिति बनेको थियो ।
छाेरी रेविका ढुङ्गानाकाे नाममा बुक बिल्डिङ विधिबाट धिताेपत्रकाे सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेकाे सर्वाेत्तम सिमेन्टकाे सेयर खरिद गरेपछि ढुङ्गाना विवादमा तानिएका थिए ।