काठमाडौँ । नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित इमेल र फोन ह्याकरले पठाएका छन् । नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको हो ।
ह्याकरले हिजो बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि पठाइएको छ ।
प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट टेलिफोनमार्फत समेत धम्की आएको उनले बताए । राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सतर्क अवस्थामा रहेको र बिहीबार बिहानसम्म कुनै गडबडी नभएको सम्बद्ध बैंकहरूले जनाएका छन् ।
ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ ।
बैंकहरूको नामै उल्लेख गर्दै सिस्टम ‘कम्प्रोमाइज्ड’ भएको र यो दक्षिण एसियाकै ठूलो ह्याक भएको चेतावनी सहितको मेसेज फैलिए पछि समग्र बैंकिङ क्षेत्र नै त्रसित बनेकाे हो । ठूलो क्षति रोक्न चाहने हो भने बिहीबारदेखि सबै बैंक शाखा ४८ घण्टासम्म बन्द राख्न चेतावनी दिइएको छ ।
अन्यथा २४ घण्टाभित्र एमआईसीआर तथा ईसीआर सिस्टम लगायत अन्य अनलाइन एवम् अफलाईन कारोबार ‘कम्प्रोमाइज्ड’ गर्ने धम्की दिइएको छ । यति मात्र होइन ईमेललाई हल्लाको विषय ठानेर मजाक नबनाउन समेत भनिएको छ ।