७ मंसिर २०८१, शुक्रबार

जानकीको बजेट ७९ करोड


बजेट

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले आठौँ गाउँसभाबाट रु ७९ करोड तीन लाख पाँच हजारको अनुमानित बजेट ल्याएको छ । गाउँपालिकाको आठौँ गाउँसभामा आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेट सर्वसम्मत पारित भएको हो ।

सभामा गाउँपालिका उपाध्यक्ष उमा महतोले सङ्घीय, वित्तीय, समानीकरण अनुदानबाट रु १५ करोड एक लाख, सङ्घीय राजश्व बाँडफाँट आयबाट रु १० करोड एक लाख ४० हजार, सङ्घीय सःर्शत अनुदानबाट रु २१ करोड ५३ लाख, सङ्घीय समपूरक अनुदानबाट रु दुई करोड ६३ लाख, सङ्घीय विशेष अनुदानबाट रु दुई करोड ४९ लाख बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । त्यस्तै उहाँले प्रदेश समानीकरण अनुदानबाट रु एक करोड नौ लाख ७४ हजार, प्रदेश राजश्व बाँडफाँटबाट रु ८१ लाख, प्रदेश विशेष अनुदानबाट रु ३० लाख, आन्तरिक स्रोतबाट रु पाँच करोड ३८ लाख ३५ हजार र चालु आवमा खर्च नभई बचत रहेको राजश्व रकम रु १५ करोड आय प्राप्त हुने अनुमान प्रस्तुत गर्नुभएको छ ।

यसैगरी चालु खर्चतर्फ रु ४५ करोड २२ लाख ९१ हजार ५२१ र पूँजीगत खर्चतर्फ रु ३३ करोड ८० लाख १३ हजार ४४८ रहेको छ । गाउँसभाले जनसङ्ख्या, भूगोल र राजश्वका आधारमा वडागत बजेट विनियोजन गरेको छ । कृषिमा रु एक करोड, स्वास्थ्यमा रु एक करोड, पशु सेवामा रु ७० लाख, शिक्षामा रु ६० लाख, विपद् व्यवस्थापनका लागि रु १० लाख र महिला विकासका लागि रु ३० लाख विनियोजन गरिएको छ ।

जोशीपुरले ल्यायो ५२ करोडको बजेट

कैलालीको जोशीपुर गाउँपालिकाले आव २०७८/७९ का लागि रु ५२ करोड पाँच लाख ६८ हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष गीता कठरियाले बजेट प्रस्तुत गर्दै गाउँपालिकाअन्तर्गत वडास्तरीय योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न रु चार करोड ५८ लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

गाउँपालिकास्तरीय सामाजिक विकास क्षेत्रअन्तर्गतका महत्वपूर्ण मानिने शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, न्यायिक निरुपण, खानेपानी तथा सरसफाइ, लक्षित वर्गलगायत समग्र सामाजिक क्षेत्रको विकासका लागि रु एक करोड ६३ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले ‘जनतासँग अध्यक्ष र महिला तथा लक्षित वर्गसँग उपाध्यक्ष’ कार्यक्रमका लागि क्रमशः रु ६४ लाख र रु ३६ लाख बजेट विनियोजन गरेको छ ।

आर्थिक विकास क्षेत्रअन्तर्गत महत्वपूर्ण मानिने कृषि तथा पशु क्षेत्र विकासका लागि विभिन्न नीति तथा कार्यक्रम लागू गरी कार्यान्वयन गर्न रु ६० लाख बजेट विनियोजन गरिएको छ । पालिकाले आगामी आवमा आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्म मध्य आय भएका पालिकामा रूपान्तरण हुँदै समृद्ध र समुन्नत आधारशीला निर्माण गर्ने लक्ष्य लिएको छ ।

गौमुलले ल्यायो ३३ करोडको बजेट

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाले आगामी आव २०७८/७९ का लागि रु ३२ करोड ८८ लाख ९२ हजार रकम विनियोजन गरेको छ । कृषि उत्पादन, स्वरोजगार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिने गरी बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका उपाध्यक्ष सीता थापाले नीति तथा कार्यक्रमसहित आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको नवौँ गाउँसभामा उपाध्यक्ष थापाले कृषि उत्पादन र स्वास्थ्य शिक्षामा विशेष जोड दिने गरी बजेट प्रस्तुत गर्नुभएको छ ।

गाउँपालिकाले चालुतर्फ रु २१ करोड पाँच लाख १२ हजार र पूँजीजगततर्फ रु १० करोड ९८ लाख ३२ हजार रकम विनियोजन गरेको छ । सङ्घीय सरकारबाट अनुदान प्राप्त रु १२ करोड ४८ लाख, समपूरक रु एक करोड ३२ लाख र प्रदेश समपूरक अनुदान रु ७८ लाख ३२ हजार तथा र गाउँपालिकाको रु ७५ लाख आम्दानीसहित बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले विषयगत समितिका लागि पनि बजेट विनियोजन गरेको छ । सामाजिक विकासतर्फ रु एक करोड १५ लाख २० हजार विनियोजन गरिएको उपाध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले यसै आवभित्र सबै वडामा सडक पु¥याउने लक्ष्य लिएको छ । आफ्नै लगानीमा जेसिबी खरिद गर्न रु ५५ लाख बजेट विनियोजन गरिएको छ भने सबै सामुदायिक विद्यालयमा भवन पक्की बनाउने नीति अघि सारिएको छ ।

आगामी दुई वर्षभित्र झोलुङ्गे पुल आवश्यक भएका ठाउँमा निर्माण गरिसक्ने, यसै वर्ष पालिकाभरि सञ्चालन हुने गरी टेलिफोन सुविधा उपलब्ध गराउने, गाउँपालिकामा उत्पादन हुने लघु जलविद्युत् आयोजनालाई एकीकृत मोडलमा लगिने र कर्मचारीको पारिश्रमिकलाई पनि एकरूपता ल्याइनुका साथै ग्रामीण विद्युतीकरण तथा राष्ट्रिय प्रसारण लाइन जोड्न पहल गर्ने बजेटमा उल्लेख छ । यसै आव साउनदेखि लागू हुने गरी भवन आचार संहिता लागू गरिने र छरिएर रहेका गाउँ बस्तीलाई एकीकृत मोडलमा लगी गाउँ शहर मोडलबाट अगाडि बढ्नका लागि आवश्यक अध्ययन कार्य अगाडि बढाइने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !