७ मंसिर २०८१, शुक्रबार

कर व्यवस्थापन सहजीकरणका लागि समिति गठन


राजस्व छली

दमौली । तनहुँको व्यास नगरपालिकाले व्यवसायको कर व्यवस्थापनका लागि समिति गठन गरेको छ । आइतबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगरक्षेत्रभित्र व्यवसायको कर व्यवस्थापन सहजीकरणका लागि व्यास –२ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यमा व्यास–१ का वडाध्यक्ष खरसिं दरै, ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, ४ का वडाध्यक्ष विश्व न्यौपाने, कार्यकारिणी सदस्य कल्पना पोख्रेल, दमौली बजार इकाई प्रतिनिधि रहनुभएको छ भने सदस्य सचिवमा राजश्व शाखाका अर्जुन श्रेष्ठ तोकिनुभएको छ ।

नगरपालिकाको गत चैत ३० गते आयोजना गर्न लागिएको स्थापना दिवसको सन्दर्भमा आमन्त्रण, प्रकाशनको र व्यवस्थापन तयारीमा भएको प्रगतिबारे समिक्षा गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थापना दिवसमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ ।

बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा खटिएका तथ्याङ्क सङ्कलकहरुलाई धन्यवाद ज्ञापन गर्ने र वडागत सङ्कलित फारम नगरपालिकामा जम्मा गरी आयोगमा प्रवृष्ट गर्न चार जना कर्मचारीलाई कामको अवधिभर काममा लगाउने निर्णय गरेको छ ।

यसैगरी स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको अधिकार भित्र रही व्यास नगरपालिका भित्र सञ्चालित घरेलु इट्टा उद्योग सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ पारित भएको नगरपालिकाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !