५ जेष्ठ २०८१, शनिबार

डिजिटल वित्तीय प्रणालीको विकासमा राष्ट्र बैङ्क प्रतिबद्ध


महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि राष्ट्र बैङ्कले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले मङ्सिर २२ देखि आयोजना गरेको ‘सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले ‘डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैङ्क प्रतिबद्ध’ रहेको बताए ।

उनले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैङ्कको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई महसुस गरेको बताए। उनले भने, “नेपालमा ‘डिजिटल पर्यावरण’को विकासका लागि राष्ट्र बैङ्क प्रतिबद्ध छ । ”नेपाल सरकारले डिजिटल अर्थतन्त्रको प्रवद्र्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महत्वाकाङ्क्षी योजना अगाडि सारेको भन्दै उनले मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पछिल्लो समयमा नेपालमा विद्युतीय बैङ्किङ र भुक्तानी प्रणालीको विकासलाई सरकार र राष्ट्र बैङ्कले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै गभर्नर अधिकारीले यसको कार्यान्वयनका निम्ति कानुनी, नीतिगत एवं संस्थागत व्यवस्थालाई सबल तुल्याइएको बताए।

डिजिटल बैङ्किङको विस्तारसँगै यसको नियमन र सुपरिवेक्षणका क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसप्रति नियामक निकाय सजग रहनुपर्ने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !