७ बैशाख २०८१, शुक्रबार

दाङमा महिलाले चलाएका व्यवसाय सफल बन्दै


दाङमा महिलाले चलाएका व्यवसाय सफल बन्दै फाइल फोटो

देउखुरी । कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल भएका छन् ।

आवश्यक खर्च जुटाउन श्रीमान् र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिलाले अहिले सफल उद्यमीको परिचय बनाइसकेका छन् । महिलाले सामूहिक र व्यक्तिगत रूपमा व्यवसाय गर्दै आएका छन् । स्थायी घर अर्घाखाँची रहनुभएका दिलु मगर वैदेशिक रोजगारीका लागि चार वर्ष लेबनान जानुभयो । घरेलु कामदारका रूपमा न्यून ज्यालामा काम गर्नुपरेको उहाँले सुनाउनुभयो ।

नेपालमा नै केही गर्ने सोच बनाएर नेपाल फर्कनुभएका मगरले घोराहीको भरतपुरमा रु १० लाख ५० हजार लगानीमा ‘अर्घाखाँची लेडिज कपडा पसल’ सञ्चालनमा ल्याउनुभएको छ । ‘‘लेबनानमा गएर घरेलु कामदार हुँदा धेरै दुःख पाइयो”, मगरले भन्नुभयो, “काम कसरी गर्नुपर्छ भन्ने लेबनानले सिकायो । त्यहाँको ऊर्जालाई नेपालमा प्रयोग गरेँ । कपडा बिक्रीबाट मासिक रु ९० हजार आम्दानी हुने गरेको छ । ”

मल्लरानी गाउँपालिका-३ चौरपानीका कमला गिरी र भूमा पौडेलको घोराहीमा २०७६ सालदेखि रु २५ लाख लगानीमा ‘नमूना सिलाइ तथा गार्मेन्ट’ उद्योग सञ्चालनमा छ । केही गर्नुपर्छ भन्ने सोचका साथ दुई मिलेर सिलाइ तथा गार्मेन्ट उद्योग खोली पाँच जनालाई रोजगारी दिनुभएको छ । उद्योगमा विद्यालय पोशाक, टिसर्ट, ट्रयाकसुट, शिक्षक र विद्यार्थीको पोशाक सिलाउने गरिएको र थप व्यवस्थापन गरेर उद्योग विस्तार गर्ने सोचाइमा रहेको पौडेलले बताउनुभयो ।

बंगलाचुली–४की सीता पाण्डेले घोराही– १५ मा कुटानीपिसानी गर्नका लागि मिल सञ्चालन गरेर स्वरोजगार बन्नुभएको छ । पिठो, चामल, दाल र मसला पिस्नका लागि खोलिएको मिलमा एक महिलालाई रोजगारी पनि मिलेको छ । सदरमुकाम बसाइँ सरेर व्यवसाय शुरु गर्नुभएको एक वर्ष भएको छ । रु २० लाख लागतमा शुरु गरिएको व्यवसायबाट उहाँले आम्दानी लिन शुरु गरिसक्नुभएको छ ।

“यति नै आम्दानी हुन्छ भन्न सकिन्न”, पाण्डेले भन्नुभयो, “कुनै महिना राम्रो आम्दानी हुन्छ त कुनै महिना कम, औसतमा मासिक रु ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।” उहाँलाई व्यवसायमा श्रीमान् रुद्रप्रसादले सहयोग गर्दै आइरहनुभएको छ ।

घोराही– १५ निवासी माधवी डिसीलाई सिलाइकटाइले आत्मनिर्भर हुने अवसर मिलेको छ । कपडा सिलाउने काम गर्दा समय पनि सदुपयोग हुनाका साथै आम्दानीको गतिलो आधार भएको छ । विसं २०६९ मा सरकारले ल्याएको ‘युवा स्वरोजगार कार्यक्रम’ अन्तर्गत स्थानीय सहकारीबाट रु एक लाख ऋण लिई दुई सिलाइ यन्त्र खरीद गरेर शुरु गरेको व्यवसायमा अहिले सात यन्त्र छन् । मासिक रु ७० हजारसम्म आम्दानी गरिँदै आएको र व्यवसायबाटै छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन र अन्य काम गर्नलाई सजिलो भएको उहाँ बताउनुहुन्छ ।

घोराही-२ रामपुरकी पुष्पा पोख्रेलले सहकारी र महिला समूहबाट रु तीन लाख कर्जा लिई पाँच वर्षदेखि ‘पोख्रेल गाई फर्म’ सञ्चालनमा ल्याउनुभएको छ । घाँसखेतीका लागि छ कट्ठा जमीन वार्षिक रु २० हजार भाडामा लिई सञ्चालनमा ल्याएको फर्ममा अहिले जर्र्सी जातका ६ गाई छन् । दैनिक ६० लिटर दूध बिक्रीबाट मासिक रु ६० हजार आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङमा पछिल्लो समयमा महिला उद्यमीको आकर्षण बढेको र साना तथा घरेलु र मझौला उद्योग महिलाका नाममा खुल्ने क्रम बढेको कार्यालय प्रमुख उमबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा कृषि तथा वनजन्य ९४, सेवामूलक ३३ र उत्पादनमूलक २१ उद्योग दर्ता भएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ उद्योग दर्ता भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !