१३ बैशाख २०८१, बिहिबार

पाल्पामा विकासका काम धमाधम


पाल्पा

रामपुर, ७ जेठ । महामारीका रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्न नदिन नेपालमा पनि जारी बन्दाबन्दीले बीचमै रोकिएका तथा शुरु हुन बाँकी रहेका पाल्पाका आयोजनाको काम यहाँका स्थानीय तहले अघि बढाएका छन् ।

बन्दाबन्दीको अहिलेको समयमा पनि सामाजिक दूरी कायम गर्नाका साथै अन्य आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै विकास निर्माणका काम अघि बढाइएको हो । स्थानीयस्तरका जनशक्ति परिचालन गरी साना तथा ठूला विकास निर्माणका योजनाका काम तदारुकताका साथ सञ्चालन गरिएको स्थानीय तहले जनाएका छन् । पुल पुलेसा, सडक, मर्मत, स्तरोन्नति, खानेपानी, सामुदायिक भवन, कुलोलगायतका विभिन्न योजनाका काम स्वास्थ्य सतर्कता अपनाउँदै सञ्चालन गरिएको हो ।

रामपुर नगरपालिकाले आफ्ना वडाका साथै नगरस्तरीय योजनाका काम अगाडि बढाएको जनाएको छ । नगरपालिकाले बन्दाबन्दीको समय लम्बिँदै जान थालेपछि सामाजिक दूरी कायम गरी यहाँका स्थानीय मजदुरलाई परिचालन गरेर विकास निर्माणका कार्यलाई धमाधम अघि बढाइरहेको छ । नगरपालिकाले तरकारी बजारका लागि रु २५ लाखको लागतमा अस्थायी घर तथा वडा नं २, ४, ६, ७ र ९ मा स्वास्थ्य केन्द्र भवन निर्माणको काम अघि बढाएको जनाएको छ । रु एक लाखसम्मका योजना वडा तहबाट सम्झौता गर्ने व्यवस्था मिलाइएको छ भने रु एक लाखभन्दा माथिका योजना नगरपालिका कार्यालयमा सम्झौता गर्नुपर्ने प्रावधान छ ।

बन्दाबन्दीको समय लम्बिँदै गएकाले गाउँ तथा नगरका विभिन्न विकास निर्माणका काम ठप्प हुँदा विकासले गति लिन नसक्ने र यसबाट धेरै योजना अलपत्र अवस्थामा पर्नसक्ने भएकाले विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै सजगताका साथ सामाजिक दूरी कायम गरेर र स्थानीय कामदार खटाएर विकास निर्माणका आयोजना नरोकिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“बाहिरबाट आएका मजदुर सबै आ–आफ्नो क्षेत्रमा गएका छन्, स्थानीयस्तरकै मजदुर व्यवस्थापन गरी बन्दाबन्दीको समयमा पनि विकास निर्माणका काम गर्न लगाइएको छ”, नगर प्रमुख थापाले भन्नुभयो । उहाँका अनुसार वडा तथा नगरमा सम्झौता भएको योजनाको काम शुरु भइसकेको छ भने टेण्डर आह्वान भएका ठूला योजना पनि सम्झौता गर्ने क्रममा रहेकाले क्रमिकरुपमा काम अगाडि बढ्नेछन् ।

रम्भा गाउँपालिकाले साना ठूला सबैजसो योजनाका काम अघि बढाएको जनाएको छ । गाउँपालिकाले ५० प्रतिशत योजनाको फरफारकको काम सम्पन्न गरिसकेको छ भने ५० प्रतिशत योजनाका काम शुरु गर्दैछ । बन्दाबन्दीको यही समयमा ठूला भनिएका दुई सडक निर्माण तथा स्तरोन्नतिको काम धमाधम गरिरहेको छ । ओमभञ्ज्याङ सुरुमडाँडा पिपर्दी म¥याङ बैरादी पन्टार मोटरबाटो ट्र्याक खोल्ने तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै लसुने ओमभञ्ज्याङ सडक स्तरोन्नति कार्य पनि अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार यी दुवै आयोजना रु एक करोड लागतका हुन् ।

“यी दुईवटा सडक निर्माण योजना बन्दाबन्दीको समयअगावै शुरु गरिएको हो, बीचमा कोरोनाको कहरले बन्दाबन्दी शुरु भएपछि रोकिन पुग्यो, अहिले ठाउँ हेरेर चार÷पाँचजना कामदार मिलाएर पुनः बन्द हुन पुगेको आयोजना सञ्चालन गरेका छौँ”, अध्यक्ष भण्डारीले भन्नुभयो । गाउँपालिकामा अहिले योजना सञ्चालनका लागि सम्झौता गर्ने र फरफारक गर्ने कार्य भइरहेको छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको पालना गर्दै वडामा फाइल बुझाउने र त्यहाँ वडा कार्यालयले फाइल हेरेपछि वडाध्यक्षको सिफारिसमा गाउँपालिका कार्यालयको लेखा शाखामा पेश गरिने भएको छ । लेखा शाखाबाट एक÷दुईजना व्यक्तिमात्र बोलाएर चेक काटेर दिने काम भइरहेको छ ।

बगनासकाली गाउँपालिकाले एक हप्ताअघिबाट योजनाका काम सुञ्चालन गरेको जनाएको छ । भौतिक पूर्वाधारका काम, कृषकलाई धानको बीउ वितरणलगायतका काम शुरु गर्न थालेको छ । गाउँपालिकामा करिब ६० देखि ६५ प्रतिशत साना ठूला योजनाका काम भने सम्पन्न भइसकेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । विपद् व्यवस्थापन समिति पाल्पाले बन्दाबन्दीको समयमा सामाजिक दूरी कायम गरी स्थानीयस्तरका मजदुर व्यवस्थापन गरेर काम गर्न निर्देशन दिएबमोजिम नै विकास निर्माण योजनाका काम शुरु गरेको अध्यक्ष बस्यालको भनाइ छ ।

त्यसैगरी माथागढी गाउँपालिकाले पनि खानेपानी, पुल पुलेसा, मोटरबाटो निर्माण तथा स्तरोन्नतिको कामलाई निरन्तरता दिएको छ । यहाँ अहिले सिँचाइका लागि कुलो र सामुदायिक भवन निर्माणको काम दु्रतगतिमा जारी छ । पन्ध्र दिनअघिबाट वडा तथा गाउँपालिकास्तरीय योजनाका काम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर बताउनुहुन्छ ।

बन्दाबन्दीको समय भएका कारण बाहिरबाट समयमा निर्माण सामग्री ल्याउन नसक्दा भने काममा कठिनाइ भएको उहाँले बताउनुभयो । “विपद् व्यवस्थापन समिति पाल्पाले निर्माण कार्य बन्द रहेका र निर्माण शुरु नभएका योजना सञ्चालन गर्न निर्देशन दिएपछि वडा तथा गाउँस्तरीय योजनाका काम शुरु गरियो, निर्माणका क्रममा सामग्री अभाव हुँदा सोचेजति काम गर्न भने सकिएको छैन”, उहाँले भन्नुभयो । काम नरोक्नका लागि थोरै थोरै मजदुर परिचालन गरेर भए पनि योजनाका काम सञ्चालन भइरहेको उहाँको भनाइ छ । कोरोनाका कारण अहिलेको विषम परिस्थिति सिर्जना नभएको भए अधिकांश स्थानीय तहमा यतिबेला विकास निर्माणका आयोजनाका काम फस््र्योट गर्ने कार्य हुन्थ्यो । स्थानीय तहले जोखिम परिस्थितिका बाबजुद पनि पूर्वाधार निर्माणका काम सञ्चालन गरिरहेका छन् ।

विकास निर्माणका साना ठूला विभिन्न आयोजनामा तराईलगायत विभिन्न क्षेत्रका मजदुर परिचालित हुन्थे । कोरोनाको अहिलेका कारण विभिन्न स्थानीय तहले आ–आफ्नै क्षेत्रमा मजदुरलाई फिर्ता पठाएपछि भने अहिले जनशक्तिको अभाव परेको छ । स्थानीय तहका जनशक्तिले मात्र छोटो समयमा धेरै आयोजनाका काम सम्पन्न गर्न अप्ठ्यारो पर्ने सम्बन्धित स्थानीय तहका प्रमुखको गुनासो छ । सञ्चालन हुन बाँकी योजना र यो महामारीका कारण बीचमै अलपत्र अवस्थामा रहेका योजना सञ्चार गर्न विपद् व्यवस्थापन समितिले अनुरोध गरेपछि जिल्लाका सबैजसो स्थानीय तहमा काम सञ्चालन भएका हुन् ।

साना ठूला योजनाका काम शुरु हुन थालेपछि काम नपाएर बसेका मजदुर भने उत्साहित हुँदै काममा निस्किएका छन् । एक्कासि काम बन्द हुँदा बिहान साँझको गुजारा चलाउन पनि गाह्रो परेको अवस्थामा बन्दाबन्दीको समयमा पुनः काम गर्ने वातावरण मिलेपछि केही भए पनि राहत मिलेको रामपुर नगरपालिका–५ बस्ने जमुना नेपाली बताउनुहुन्छ । “बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निरन्तर काम गर्ने हो, दिनभरि काम गरेर साँझ फर्कने बेला रु ५०० ज्याला पाइन्छ, त्यसैबाट चामल, नुन, तेल किनेर छोराछोरी पाल्ने हामी जस्ता मजदुरलाई लगातार काम गर्न नपाउँदा बन्दाबन्दीको समयमा हातमुख जोड्नै समस्या प¥यो”, उहाँले बन्दाबन्दीको अनुभव सुनाउनुभयो ।

सरकारले बन्दाबन्दीको समयमा हातमुख जोर्न समस्यामा परेका नागरिकलाई राहत वितरण गरे पनि ठूलो परिवार भएकालाई लामो समयसम्म राहतले परिवार धान्न नसक्ने अवस्था रहेको नेपालीको गुनासो छ । उहाँले राहतस्वरुप सरकारले मापदण्ड गरेअनुसार ६ जना परिवारलाई २५ किलो चामल साथमा दाल, खानेतेल, नुन, चना, साबुन बुझ्नुभयो । परिवार ठूलो हुँदा राहत अपर्याप्त भएकाले लामो समयसम्म दैनिक गुजारा चलाउन समस्या परेको उहाँको भनाइ छ ।

राहतबाट पेट पाल्नभन्दा मजदुरी गरेर नै जीवन धान्न सहज भएको सोही ठाउँकै सुमित्रा थापा बताउनुहुन्छ । “सरकारले मजदुरलाई राहत दिएर राम्रै गरेको छ, बन्द पनि एक दिन, दुई दिन भए पो, दुई महिनासम्म लगातार बन्द हुँदा कसरी ज्यान पाल्नु ? बरु राहतको सट्टा यसरी नै काम गर्न पाउँदा नै राम्रै भएको छ”, थापाको अनुभव छ । लक्षित वर्गका लागि विनियोजन गरिएका कार्यक्रम भने सञ्चालन भएको छैन । गाउँपालिका तथा नगरपालिकाले लक्षित वर्गलाई छुट्याएको बजेट यसपटक भने राहत वितरणमा खर्चेको जनप्रतिनिधि बताउँछन् ।

पूर्वाधार विकासका काम टाढै रहेर पनि गर्न सकिने भएको हुँदा यस कार्यमा स्थानीय तहले जोड दिएका हुन् । वर्षायामअघि नै सक्नुपर्ने विभिन्न खोला, कुलो, सडक, पुलपुलेसाको कामलाई बढी महत्व दिइएको छ । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । यहाँका स्थानीय सरकारले विकास निर्माण, कृषि उत्पादन तथा पर्यटन क्षेत्रको विकासमा जोड दिएका छन् । बन्दाबन्दीका कारण पर्यटन क्षेत्रको विकासमा भने शून्यता छाएको छ । कोरोनाको कहरले अहिले यहाँका स्थानीय सरकारले कृषि तथा पशु उत्पादन बढाउन आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर व्यवसायमा ऋण लगानी गर्ने योजना बनाएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !