१८ बैशाख २०८१, मंगलबार

नब्बे प्रतिशत काम सम्पन्न


sindhupalchok

२६ भदौ, चौतारा । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।

उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर लक्ष्मी उपाध्यायले बताउनुभयो । क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्था छ । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका तथा नयाँ बस्ती बसेका स्थानमा धमाधम काम भइरहेको छ ।

चौतारा सागाचोक गढी नगरपालिका–८ इर्खूको दियाले, मेलम्ची नपाअन्तर्गत गिरानचौर तथा मेलम्ची, हेलम्बु र गातीमा बन्न लागेका एकीकृत बस्तीको लागि खानेपानी योजनाको निर्माण भइरहेको उपाध्यायले जानकारी दिनुभयो । सदरमुकाम चौतारा बजार तथा आसपासका गाउँको लागि चौतारा–थालखर्क खानेपानी आयोजनाको गत वर्ष १८ किलोमिटर पाइप फेर्ने काम सम्पन्न भएको छ । रु ६५ करोडको लगानीको सो आयोजनाको थालखर्कको मुहान क्षेत्रमा अझै ३ दशमलव ५ किमीमा पाइप बिछ्याउने काम बाँकी नैै छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समेत बजेट रहेको उक्त आयोजनाको काम बजेट निकासा नहँुदा दुई वर्षदेखि रोकिएको थियो । थालखर्क र स्याउनेदेखि चौतारासम्मको वितरण लाइनको काम बाँकी नै छ । अधुरो काम पूरा गर्न खानेपानी तथा शहरी विकास मञ्त्रालयबाट बजेट निकासा हुने इञ्जिनीयर उपाध्याय बताउनुहुन्छ । नेपाल सरकारको निर्णयअनुसार जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजनलगायतका कार्यालय साउन १ गतेदेखि खारेजीमा परेका छन् । खारेजीमा परेका कार्यालयले गर्दै आएका काम अब कुन निकायले गर्ने भन्नेबारे टुङ्गो नलागेपछि विभिन्न आयोजना अधुरै अवस्थामा छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !