६ पुस २०८१, शनिबार

श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण


काठे पुल निर्माण

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो ।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ । सबै स्थानमा एकैपटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो । तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छन् । अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना रहेको अध्यक्ष लिम्बूले बताए ।

प्रत्येक वर्ष मङ्सिर महिनामा पानीको सतह घटेपछि पुल निर्माण थाल्ने गरिएको छ । हालै निर्माण सम्पन्न काठे पुल जेठ महिनासम्म सञ्चालन हुनेछ । यसपछि वर्षा याम सुरु भएसँगै नदीमा पानीको सतह बढ्ने र पुल बगाउने अवस्था आउँछ ।

विगतमा यस क्षेत्रमा चारदेखि पाँच अस्थायी काठे मोटरेबल पुल बनाइने गरेकामा अहिले केही स्थानमा स्थायी पक्की पुल निर्माण भइसकेका छन् । केही पुलको निर्माण प्रक्रिया जारी रहेको अध्यक्ष लिम्बूले जानकारी दिए । उनका अनुसार विगतमा एउटा अस्थायी पुल निर्माण गर्न झन्डै चार लाखदेखि पाँच लाख खर्च लाग्ने गथ्र्यो तर, यसपटक श्रमदानमार्फत जनशक्ति जुटाएर निर्माण सामग्री खरिद गर्न मात्र ६० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहमा विकासका गतिविधि सञ्चालन गर्न सीमित बजेटको बाध्यता रहेकाले श्रमदानको उपयोग गरिएको हो । गाउँपालिकाले आवश्यक सामग्री उपलब्ध गराएको छ भने पुल निर्माणका लागि श्रमदानमार्फत जनशक्ति जुटाइएको छ । गाउँपालिकाले मङ्सिर महिनामा पुल निर्माण गरेर हिउँदभरि स्थानीयलाई यातायातको सुविधा दिने प्रयासलाई निरन्तरता दिइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !