७ पुस २०८१, आइतबार

मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण


मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण

गलेश्वर, म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष गर्बुजाले पाहार ट्रष्टले भवन निर्माणमा ठूलो योगदान पुर्याएको बताउदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवनलगायत पूर्वाधार निर्माण गर्न चाहेमा गाउँपालिकाले साझेदारी गर्ने प्रतिबद्धता जनाए । गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवनलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष गर्बुजाले बताए ।

पाहार ट्रष्टका इन्जिनियर टेक रानाका अनुसार रु एक करोड २२ लाख तीन हजार दुई सय ६६ लागतमा भवन निर्माण भएको हो । ६१ लाख एक हजार, गाउँपालिकाबाट ५० लाख र स्थानीयबासी ११ लाख एक हजार लगानी भएको ट्रष्टका इन्जिनियर रानाले बताए । विसं २०७८ मङ्सिरदेखि निर्माण थालेको भवनको काम २०७९ साल असोजमा सम्पन्न भएको थियो । वडाअध्यक्ष मिम पुन र समाजसेवी क्याप्टेन जितबहादुर घर्तीले ट्रष्टसँगको सहकार्यमा भीम मावि र गौ बोम बस्त माविमा सुविधासम्पन्न भवन निर्माण भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिलबहादुर पुनले पहिले जीर्ण पुरानो भवनको साँघुरो कक्षाकोठामा पठनपाठन हुँदै आएकामा अहिले भवन बनेपछि भने सहज भएको बताए । अध्यक्ष ग्रिनले गाउँपालिका र स्थानीयबासीसँगको साझेदारीमा सुविधासम्पन्न भवन निर्माण हुनु दुर्गम गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आधार बनेको बताए ।

उनका अनुसार पाहार ट्रष्ट युकेमार्फत नेपालका २७ जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हालसम्म तीन सयभन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजना निर्माण भइसकेका छन् । उनले नेपालका दुर्गम ग्रामीण बस्तीका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा तथा सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । भवनको संरक्षण गर्ने विद्यालय र स्थानीबासीको दायित्व भएको उनको भनाइ थियो । विद्यालयका प्रअ डम्बरबहादुर घर्तीका अनुसार कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा दुई सय ३४ जना विद्यार्थी अध्ययनरत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !