१४ जेठ, झापा । अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ ।
पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययन गर्दैआएका विद्यार्थीलाई समेत विद्यालय आवागमनका लागि सहज भएको छ ।
अर्जुनधारा– १० कालिस्थानका बासिन्दा यसअघि रेखा खोलामा पुल नहुँदा निकै समस्यामा थिए । गत वर्ष आएको बाढीले रेखा खोलाको कज्वे भत्काएपछि त्यहाँका स्थानीयवासी खोला भएर हिँड्न बाध्य थिए ।
नगरपालिकाले चालू आवमा रु २५ लाख तथा बाँकी रकम आगामी आवको बजेटबाट परिपूर्ति गर्ने गरी पुल निर्माण गरिएको हो । पुल निर्माणको कूल लागत रु ५७ लाख ६२ हजार रहेको छ । स्थानीयवासीको समेत जनसहभागितामा रेखा खोलामा पुल निर्माण भएको अर्जुनधारा नगरपालिका– ९ का वडाध्यक्ष पुष्प प्रसार्इंले बताउनुभयो । पुल निर्माणका लागि स्थानीयवासीको रु सात लाख ३५ हजार लागत रहेको छ ।
पुल उद्घाटन समारोहमा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज प्रसार्इंले पुलको आर्थिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । पुलको लम्बाइ १० मिटर र चौडाइ छ मिटर रहेको छ ।(रासस)