७ बैशाख २०८१, शुक्रबार

काठमाडौँको ग्वार्खाेमा ‘फ्लाई ओभर’ को काम भदौदेखि सुरु हुने


ग्वार्खाे ‘फ्लाई ओभर’

काठमाडौँ । ग्वार्खाे ‘फ्लाई ओभर’ को काम आगामी भदौदेखि सुरुआत गरिने भएको छ । सरकारको लगानीमा पहिलोपटक सो ‘फ्लाई ओभर’बनाउन लागिएको हो ।

वैदेशिक लगानीमा यसअघि नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत ‘फ्लाई ओभर’ को निर्माण अघि बढाइएको थियो । गत आवमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैँले ‘डिजाइन’ गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

निर्माण कम्पनीले तयार गरेको ‘डिजाइन’ प्रतिक्रियाका लागि सरकारलाई पेश गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) सौरभ बज्राचार्यले बताउनुभयो । सरकारले दिएको सुझाव समेटेर पुनः डिजाइन आउने र यसपछि निर्माणमा जाने भएको छ ।

डिजाइन स्वीकृत भएपछि निर्माणमा जाने र त्यसको डेढ वर्षमा सम्पन्न गरिने उनले बताए । यसको अवधि दुई वर्ष रहेकामा चार महिना सकिएर २० महिना बाँकी छ । उनले भने, “तयारीका लागि अहिलेसम्म समय तालिकाभन्दा ढिला छैन ।”

डिजाइन आएपछि केन्द्रले २१ दिनभित्रमा डिजाइन स्वीकार गर्नुपर्ने उनले बताए । विभागीय प्रक्रिया पूरा गरेर केन्द्रले साउनको अन्तिमसम्ममा स्वीकृति दिनेछ । उनले भने, “भदौबाट नै कम्पनीले भौतिक काम सुरु गर्न सक्नेछ ।”

‘फ्लाई ओभर’ लम्बाइ, चौडाइ, उचाइलगायतका विषयमा यसअघि नै केन्द्रले खाका बनाएको छ । सामान्यतया ती कुरा परिवर्तन नभएरभित्रको केही कुराजस्तै डन्डी कति हाल्ने, कङ्क्रिट कति हाल्ने भन्ने कुरा डिजाइनमा उल्लेख हुने उहाँले बताए ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गर्ने उल्लेख गरेको छ । तीन वटै ‘फ्लाई ओभर’ का लािग रु एक अर्ब ३४ करोड चाहिन्छ । अर्थ मन्त्रालयबाट त्यो रकमका लागि सहमति आएपछि ठेक्का प्रक्रियामा जान सकिने उनले बताए ।

चालु आवको बजेटमा तीनै वटाका लागि रु २५ करोड छुट्टाइएको छ । साउन अन्तिमसम्ममा बहुवर्षीय ठेक्का लागि सहमति आएपछि ठेक्कामा जान सकिने सिडिई बज्राचार्यले बताए । सरकार आफैँले इपिसि (इञ्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो । यसमा ‘डिजाइन एण्ड बिल्ड’ सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर बज्राचार्यले बताए ।

चुनौती बहन गर्ने विषय इपिसिमा ‘डिजाइन एण्ड विल्ड’ भन्दा फरक छ । यसमा निर्माण व्यवसायीको बढी जिम्मेवारी हुन्छ । ‘डिजाइन एण्ड विल्ड’ मा केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसिका सम्पूर्ण काम र जिम्मेवारी कम्पनीको हुने उहाँले बताए ।

इपिसिअनुसार निर्माण गर्दा निर्माण कम्पनीले डिजाइन परिवर्तन गर्न पाउँछ । कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएमा आवश्यकताअनुसार केही परिवर्तन गरेर डिजाइन तयार हुने सिडिइ बज्राचार्यले बताए ।

अहिले ‘फ्लाई ओभर’ का लागि सुरुमा ट्राफिक व्यवस्थापनमा केही परिवर्तन गर्नुपर्ने देखिएको छ । संरचनमा परिवर्तन नभए पनि ट्राफिक व्यवस्थापनमा केही परिवर्तन हुनसक्ने देखिएको छ । निर्माणको समयमा र निर्माण भएर ‘फ्लाई ओभर’ सञ्चालनमा आएपछि कता कताबाट कसरी सवारीसाधन सञ्चालन र व्यवस्थापन गर्ने भन्नेमा केही परिवर्तन हुने देखिएको छ ।

निर्माणको अवधिमा मुख्य लेनमा सवारी साधन चल्न नपाउँदा सडक व्यवस्थापनका लागि सर्भिस लेन मात्रै पर्याप्त नहुने देखिएको छ । सहायक लेनले धान्न नसक्दा त्योभन्दा बाहिरको लेन (सर्भिस लेन) प्रयोगमा ल्याउनुपर्ने हुनसक्छ । चक्रपथको सो खण्डमा कतै सर्भिस लेन बनिसकेको छ भने कतै सम्पन्न हुन बाँकी छ ।

फागुन १९ मा डिजाइन सुरु भएको थियो । सरकार आफैँले निर्माण गर्न लागेको पहिलो ‘फ्लाई ओभर’ सरकार र निर्माण व्यवसायी दुवैका लागि नयाँ हो । अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको होे । नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत अन्य ठूला र जटिल खालका पुल बनाएर आफूलाई प्रमाणित गरिसकेका छन् ।

जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प आवश्यक देखिएको हो । माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रै बनाएर राख्न खोजिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाई ओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ ।

बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि ‘फ्लाई ओभर’ पुगिनेछ । त्यतातर्फ २८० मिटर लामो र्याम हुने र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको र्याम हुने बताइएको छ । सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !